खोटाङ, ७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिशनमा तीनवटा कुर्सी घुमाउन सफल हुनुभएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रशारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करण अन्तरगत यही माघ–५ गते शनिबार राति प्रशारण गरिएको ब्लाइण्ड अडिशनमा प्रदीपले गायक तथा सँगीतकार पदम राईको स्वरमा रहेको ‘यसो हेरे पूर्व तिर…’ बोलको गीत गाउनुभएको थियो ।
बिगत दश वर्षदेखि साँगीतिक यात्रामा सक्रिय रहनुभएका प्रदीपले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिशनमा दिनुभएको प्रस्तुतिको भिडियो क्लिप्स सामाजिक सञ्जाल टिकटक, रिल तथा फेसबुक पेजहरुमा भाइरल बनेको छ । पूर्वी पहाडी जिल्ला खोटाङको दुर्गम गाउँ खार्मीमा जन्मिएर साँगीतिक क्षेत्रमै भविष्य खोजिरहनुभएका प्रदीप भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिशनबाट ब्याटल अडिशनका लागि छनोट भएपछि आफन्त तथा शुभचिन्तकले बधाई तथा शुभकामना दिइरहेका छन् ।
चारजना कोच (प्रशिक्षक) रहेको भ्वाइस अफ नेपालमा ब्याटल अडिशनका लागि छनोट हुनुभएका प्रदीपले कोच उदय सोताङलाई रोज्नुभएको छ । आई वान्ट (म चाहन्छु) भनेर कुर्सी घुमाउनुभएका चर्चित गायिका मेलिना राई र गायक तथा सँगीतकार खेम सेन्चुरीलाई छाडेर गायक तथा सँगीतकार सोताङसँग जानेक्रममा अन्य कोचहरुले प्रदीपको स्वरको प्रशंसा गर्दै उज्वल भविष्यको लागि शुभकामना दिनुभएको छ ।
घरपरिवार तथा विशेषगरी साहिला दाजु सुदीप राईको प्रेरणा र हौसलाले साँगीतिक यात्रामा लागेको बताउनुहुँदै प्रदीपले रियालिटी शो भ्वाइसको मञ्चबाटै आफूमाथि केही व्यक्तिले आफ्नो वास्तविक नामभन्दा पनि गाइने भनेर बोलाउने गरेको प्रति दुःखसमेत व्यक्त गर्नुभएको छ । खिसीट्युरी गर्ने व्यक्तिहरुकै कारण आफू यहाँसम्म आइपुगेको पनि प्रदीपले अडिशनकै क्रममा बताउनुभएको छ ।
किरात राई यायोख्खा केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘यलम्बर सँगीत प्रतियोगिता भाग–५’को सेकेन्ड रनरअप, खोटाङ कलाकार समाजद्वारा आयोजित पालिका प्रतिभा–२०८० मा प्रथम र जिल्ला प्रतियोगितामा दोस्रो उपाधि प्राप्त गरिसक्नुभएको छ । तर, प्रदीपले भ्वाइस अफ नेपालले आयोजना गरेको छैटौँ संस्करणको ब्याटल अडिशन गुमाउनुभएको छ । ब्लाइण्ड अडिशनमा बेजोड प्रस्तुति दिनुभएका प्रदीप वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुग्नुभएको छ ।
अहिले दक्षिण कोरियाको छेजुदो प्रान्तमा मजदुरीको काम गरिरहनुभएका प्रदीपले घरको कमजोर आर्थिक अवस्थाका कारण भ्वाइस अफ नेपालको छैटौँ संस्करणको उपाधि जित्ने चाहना र सम्भावना हुँदाहुँदै ब्याटल नै छाडेर विदेशिन बाध्य भएको बताउनुभएको छ । “जहाँ रहे पनि जसरी भए पनि गीत÷सँगीतसँगको यात्रा पक्कै जारी रहिरहनेछ । कुनै मोडमा इच्छा, चाहना, सपनाभन्दा परिस्थितिले दास बनाइ दिँदो रहेछ”, उहाँले ब्लाइण्ड अडिशनमा आफू दिएको प्रस्तुतिको भिडियो क्लिप्स फेसबुकमा शेयर (साझा) गर्दै लेख्नुभएको छ, “खैर सम्पूर्ण शुभचिन्तक प्रति माँया÷हौसलाका लागि आभारी छु । गीत÷सँगीतसँगको यात्रा जारी रहिरहनेछ ।”
साँगीतिक कक्षासँगै औपचारिक शिक्षा अन्तरगत कक्षा–१२ सम्मको अध्ययन पूरा गर्नुभएका प्रदीपलाई साँगीतिक क्षेत्रमै योगदान गर्न दाजु दीपेन्द्रले विदेशबाट पैसा पठाउने गरेको पनि बताउनुभएको छ । केही वर्षअघि नै साँगीतिक क्षेत्रबाट अलग्गिने निर्णयमा पुगेको जानकारी दिनुहुँदै प्रदीपले पुनः गीत÷सँगीतमै फर्किन कोच मेलिनाको स्वरमा रहेको ‘तिमीले बाटो फेरेउ अरे…’ बोलको गीतले प्रोत्साहन गरेको बताउनुभएको छ ।
भ्वाइस अफ नेपालको ब्याटल तथा अडिशनका प्रतिस्पर्धीहरुलाई विदेशबाटै भएपनि अडिशन दिने वातारण आयोजकले मिलाउनुपर्ने प्रदीपका जेठा दाजु दीपेन्द्र राईले बताउनुभएको छ । “कला र गला दुवै भएका प्रदीपलाई विदेश पठाउने रहर थिएन । साँगीतिक क्षेत्रमै भविष्य खोज्न आग्रह ग¥यौँ । परिवारको तर्फबाट गर्ने सहयोग पनि उपलब्ध गरायौँ । तर, देशको अवस्था हेर्दा त्यो सम्भव भएन”, उहाँले भन्नुभयो, “कलाकारहरुको सम्मान तथा भविष्यप्रति नेपाल सरकार उदासिन देखिन्छ । भ्वाइस अफ नेपालमा ब्लाइण्ड अडिशन पार गरेका प्रतिस्पर्धीलाई आयोजकले ब्याटल तथा अन्य अडिशनमा विदेशबाटै प्रतिस्पर्धा गर्ने वातारण मिलाउनुपर्छ ।”
पाँच सन्तानका बुबा राजकुमार राई र आमा भीमकुमारी राईका कान्छा छोरा प्रदीपले यसअघि आफ्नै स्वरमा ‘साप्सुको छाल…, रगतको नाता…’ लगायत विभिन्न गीतहरुसमेत रेकर्ड गराएर बजारमा ल्याइसक्नुभएको छ । खार्मीका मध्यम वर्गीय परिवारमा जन्मिएर रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुग्नुभएका प्रदीपले विदेशबाट फर्किएर पुनः गीत÷सँगीतकै क्षेत्रमा योगदान गर्ने बताउनुभएको छ ।