फोहर व्यवस्थापनमा ध्यानाकार्षण गराउन पत्रकार महासङ्घको सरसफाइ अभियान

Halesi Khabar

खोटाङ, ७ माघ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले सरसफाइ अभियान शुरु गरेको छ । सार्वजनिकस्थल तथा घर आसपास जथाभावी छरिएका तथा फालिएका फोहर व्यवस्थापनमा सम्बन्धित निकायलाई खबरदारी गर्न तथा स्थानीय समुदायमा सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गराउने उद्देश्यसहित पत्रकार महासङ्घ खोटाङले सरसफाइ अभियान शुरु गरेको हो ।

पत्रकार महाङ्घले शुरु गरेको सरसफाइ अभियान अन्तरगत आज (सोमबार) दिक्तेल बजारस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हल आसपासको झाडी फाँड्ने, फोहर सङ्कलन गर्ने, पहिरो पन्छाउने लगायतका काम गरिएको पत्रकार महासङ्घका सचिव राजकुमार भट्टराईले जानकारी दिनुभयो । अभियानका क्रममा सङ्कलन गरिएका फोहर सम्बन्धित ठाउँमा लगेर व्यवस्थापन गर्नका लागि दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवन नजिकै जम्मा गरेर राखिएको जनाइएको छ ।

पत्रकार महासङ्घको आयोजना तथा स्थानीयवासीको सहभागितामा सञ्चालन गरिएको सरसफाइ अभियानका क्रममा गत असोज–१२ गते समिक्षलय हलमुनिबाट खसेको पहिरोसमेत हटाइएको छ । पहिरोले सडकलाई कुरुप बनाउनुका साथै सवारी दुर्घटना हुने सम्भावित जोखिम बढेकाले सडकमा खसेको पहिरो पन्छाइएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारकै सडक, सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरुमा फोहरको डङ्गुर भेटिएपछि खबरदारी तथा सचेतना फैलाउन सरसफाइ अभियान शुरु गरिएको पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताउनुभयो । “स्थानीय समुदायले आफ्नो घर, आँगन तथा आसपासका क्षेत्र तथा सरकारी कार्यालयले आफ्नो कार्यालय परिसर नियमित सफा गर्ने बित्तिकै सिङ्गो गाउँ तथा समाज नै सफा हुन्छ । आगामी दिनमा सबैले आफ्नो सोचेर सार्वजनिकस्थल सरसफाइ गर्न आग्रह गरिएको छ”, उहाँले भन्नुभयो, “पत्रकारहरु समाचार सम्प्रेशण मात्र गर्दैनन्, सामाजिक काम पनि गर्छन् भन्ने उदाहरण दिन पत्रकार महासङ्घको नेतृत्वमा सरसफाइ अभियान शुरु गरिएको हो । सरसफाइ अभियानमा सबैको साथ पाउँदा हौसला बढेको छ ।”

सरसफाइ अभियानमा पत्रकार महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, जिल्ला कार्यसमितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुका साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिका अध्यक्ष गोपालचन्द्र आचार्य, युवा व्यवसायी जोसेफ रिजाल, नरेन्द्र ढकाल, भुवन आचार्य, सुवास आचार्य, निरकुमार श्रेष्ठ लगायको सहभागिता थियो । पत्रकार महासङ्घको नेतृत्वमा पहिलो पटक आयोजना गरिएको सरसफाइ अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने योजना बनाइएको पत्रकार महासङ्घका उपाध्यक्ष चिसाङ शेर्पाले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा जथाभावी छरिएका तथा फालिएका फोहर उचित ठाउँमा व्यवस्थापन नहुँदा सार्वजनिक, धार्मिक तथा पर्यटकीयस्थलहरु कुरुप बन्दै गएका छन् । जङ्क फुडजन्य वस्तुका खोल (बिस्कुट तथा चाउचाउ आदि) तथा आयातित पेयपदार्थ (ड्यू, कोक, पेप्सी, रेडबुल, विभिन्न ब्राण्डका रक्सी आदि)का बोत्तलहरु जथाभावी फालिएका कारण धार्मिक तथा पर्यटकीयस्थलहरु कुरुप बन्दै गएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा समेत फोहरको डङ्गुर बढ्दै गएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जथाभावी छरिएका तथा फालिएका शिशाजन्य फोहर आफै व्यवस्थापन गर्न व्यवसायीहरुलाई निर्देशन दिएको छ । नगरपालिकामा फोहर गर्ने व्यक्ति, पसल, कम्पनी अथवा डिलर स्वयम्ले उक्त फोहर सफा गर्नुपर्ने नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा उल्लेख भएकाले शिशाजन्य फोहर व्यवस्थापन गर्न व्यवसायीलाई निर्देशन दिइएको जनाइएको छ ।

नगरपालिकाको निर्देशनलाई व्यवसायीले नमानेको खण्डमा आगामी दिनमा शिशाजन्य बोत्तल आयातमा पूर्ण प्रतिबन्ध लगाइने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । नगरपालिकाको पर्यावरणलाई स्वच्छ र सफा राख्न सरोकारवाला निकायसँग पटक–पटक छलफल तथा अन्तरक्रियासमेत गर्दै आएको छ ।

जथाभावी फालिएका शिशाजन्य वस्तुका कारण जिल्लाका खेतीयोग्य जमिन तथा खोलाखोल्सीको वातावरणसमेत बिग्रिएको पर्यावरणको क्षेत्रमा काम गर्ने व्यक्तिहरुले बताउँदै आएका छन् । जिल्लाका सबै स्थानीय तहमा ग्रामीण सडकमार्फत यातायातका सवारी साधन पुगेसँगै आयातित खाद्य पदार्थ भित्रिँदा मानव स्वास्थ्य तथा वातावरणलाई समेत दीर्घकालीन असर गर्ने शिशाजन्य वस्तुहरु भित्रिएको हो ।

 

तपाईको प्रतिक्रिया