खोटाङ, ४ माघ । पत्रकारको न्यूनतम् पारिश्रमिक समयानुकूल वृद्धि हुनुपर्नेमा खोटाङमा क्रियाशील पत्रकारहरुले जोड दिएका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आज (शुक्रबार) दिक्तेलमा आयोजना गरेको श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले लामो समयअघिदेखि कार्यान्वयन हुँदै आएको न्यूनतम् पारिश्रमिक समयानुकूल संशोधन गरेर वृद्धि गर्ने काम नहुँदा समस्या भएको बताएका छन् ।
कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले न्यूनतम् पारिश्रमिक निर्धारण समितिले मोफसलमा रहेर पत्रकारिता गरिरहेका पत्रकारलाई समेत सम्बोधन गर्नेगरी ऐन संशोधन गर्नुपर्ने बताउनुभएको छ । “मोफसलमा रहेका पत्रकारहरु कसरी पत्रकारिता गरिरहेका छन् भन्ने विषयमा सम्बन्धित सञ्चार गृह तथा न्यूनतम् पारिश्रमिक निर्धारण समितिसमेत बेखबर छन् । मोफसलमा रहेर पत्रकारिता गर्नु त्यति सजिलो छैन”, उहाँले भन्नुभयो, “एउटा समाचार तयार पार्नका लागि एकजना पत्रकारको रु तीन हजारदेखि रु पाँच हजारसम्म खर्च हुन्छ । तर, त्यो समाचार प्रयोग भएको खण्डमा त्यो सम्वाददाताले रु २८१ देखि रु २५० सम्ममात्र पाउँछ । अहिलेको यो अवस्थामा मोफसलमा रहेर पत्रकारिता पेशामा टिकिरहने अवस्था छैन । यो कुरालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले विशेषगरी कुरा उठाउनुपर्छ ।”
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङसँगको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी अन्य वक्ताहरुले नेपाल सरकारले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापनमा समेत मोफसल र केन्द्रको बीचमा विभेद गरेको बताएका छन् । दिक्तेलस्थित होटल थ्री ब्रदर्शमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्य, पूर्वअध्यक्ष डम्बरसिं राई, निवर्तमान अध्यक्ष दिलीप खत्री, प्रेस सेन्टर नेपालका केन्द्रीय लेखा समिति सदस्य भीम राई, जिल्ला अध्यक्ष सविना अछामे परिवार लगायतले धारणा राख्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै समितिका सदस्य टेनिस रोकाले पत्रकारको न्यूनतम् पारिश्रमिक निर्धारण गर्ने जिम्मा नेपाल सरकारको भएकाले कार्यक्रममा उठेका विषयहरुलाई सम्बन्धित ठाउँमा पु¥याएर सम्बोधन गर्ने÷गराउने प्रतिवद्धता जनाउनुभएको छ । “हामी तपाईहरुको गुनासा तथा सुझाव सङ्कलन गर्न जिल्ला आएका हौँ । यहाँ उठेका सबै विषय जायज छन्”, उहाँले भन्नुभयो, “तपाईहरुले दिनुभएको सुझाव तथा गुनासालाई समेटेर प्रतिवेदन तयार पार्छौँ । हामीले तयार पारेको प्रतिवेदन सम्बन्धित निकायमा पु¥याएर कार्यान्वयन गर्न लगाउँछौँ ।”
अन्तरक्रिया कार्यक्रममा पेशागत सङ्घ तथा सङ्गठनका प्रमुख तथा प्रतिनिधि, राष्ट्रिय तथा स्थानीय सञ्चार गृहका सम्वाददाता लगायतको उपस्थिति रहेको थियो । उनीहरुले जिल्लास्थित सरकारी कार्यालयहरुबाट राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्ने टेण्डर आव्हान सम्बन्धी विज्ञापनहरु जिल्लामा क्रियाशील पत्रकारहरुको माध्यमबाटै केन्द्रमा जाने वातावरण सिर्जना गर्न पत्रकार महासङ्घलाई सुझाव दिएका छन् ।
यसैबीच, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले पत्रकार महासङ्घको उपत्यका प्रदेश अध्यक्षमा निर्वाचित टेनिस रोकालाई सम्मान गरेको छ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा जन्मिएर लामो समयदेखि राजधानी काठमाडौँमा पत्रकारिता गर्दै आउनुभएका रोकालाई पत्रकार महासङ्घको कार्यालयमा आयोजित कार्यक्रममा बधाई तथा शुभकामनासहित सम्मान गरिएको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष रोकाले जिल्लाको समस्या समाधान तथा सहकार्यका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ । राजधानी दैनिकमा कार्यरत रोका गत मङ्सिर–२८ गते भएको पत्रकार महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका उम्मेदवारलाई पराजित गर्दै प्रेस सेन्टर नेपालको तर्फबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।