राष्ट्रिय भूकम्प सुरक्षा दिवस : भौतिक संचरना बनाउँदा प्राविधिकको सल्लाह अनिवार्य

Halesi Khabar

खोटाङ, २ पुस । भूकम्प सम्बन्धी विविध सचेतनामूलक कार्यक्रमको आयोजन गर्दै खोटाङमा २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले सचेतनामूलक कार्यक्रमसहित दिवस मनाएको हो ।

दिक्तेलस्थित हेलिप्याडमा आयोजित कार्यक्रममा नेपाली सेनाको रणभिम गण मुडे ब्यारेकले भूकम्पको डेमो (कृतिम अभ्यास) प्रदर्शन गरेको थियो । नेपाली सेनाले डेमोमार्फत भूकम्पको समयमा अपनाउनुपर्ने सुरक्षित विधि, घाइतेको उद्धार तथा स्वास्थ्य उपचार लगायतका बारेमा जानकारी दिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले ‘बिगतका भूकम्पबाट सिकेको पाठ भूकम्पीय जोखिम न्यूनीकरण गर्न आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभएको छ । भूकम्पबाट बच्न सबै नागरिकले संचरना बनाउँदा प्राविधिकको सल्लाहमा मात्र बनाउन आग्रहसमेत गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणले ११ औँ राट्रकोरुपमा पर्ने भएकाले पनि भूकम्पबाट सजक हुनुपर्ने बताउनुभएको छ । भूकम्पले भन्दा पनि हामीले बनाएका संरचनाहरु भूकम्प प्रतिरोधिी नभएका कारण धनजनको क्षति हुने गरेको बताउनुभयो ।

नेपालमा वि.सं. १९९० माघ–२ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ । दिउँसो २ः२४ बजे गएको ८ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति भएको थियो ।

वि.सं. २०७२ वैशाख–१२ गते गएको भूकम्पमा परी आठ हजार ६७० जनाको ज्यान गएको थियो भने, सात लाखभन्दा बढी परिवारको आवासमा क्षति पुगेको थियो । दश स्थानीय तह रहेको जिल्लामा वि.सं. २०७२ सालको भूकम्प र पराकम्पनका कारण आठ हजार ४६२ परिवार विस्थापित भएका थिए ।

तपाईको प्रतिक्रिया