खोटाङ, २९ पुस । प्रेस सेन्टर नेपाल खोटाङको अध्यक्षमा सविना अछामे परियार चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आज (सोमबार) साँझ सम्पन्न सङ्गठनको पाचौँ जिल्ला अधिवेशनले यसअघि सचिव रहनुभएकी अछामे परियारलाई जिल्ला अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिनेश राई, सचिवमा ज्ञानेन्द्र विश्वकर्मा र सहसचिवमा तीलक साम्पाङ चयन हुनुभएको छ । पन्ध्र सदस्यीय जिल्ला कार्यसमितिको कोषाध्यक्ष भने, अब बस्ने जिल्ला कार्यसमितिको पूर्ण बैठकले चयन गर्ने सहमति गरिएको नवनिर्वाचित अध्यक्ष अछामे परियारले जानकारी दिनुभयो ।
समिति सदस्यहरुमा चित्रकुमार श्रेष्ठ, पुस्कल राई, युवराज राई, नवीन सुनाम, दीक्षा राई र नारदमणी राई चयन हुनुभएको छ । अधिवेशनले रामधन राई र अशल चरित्र राईलाई प्रदेश प्रतिनिधि तथा सुर्य तामाङ र केदार मगरलाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला ईन्चार्ज ध्रुब बुढाथोकी ‘धिरेन’को प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष रामधन राईको अध्यक्षता भएको अधिवेशनमा प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज डम्बरसिं राई, सदस्य उजुर राई, केन्द्रीय लेखा समिति सदस्य भीम राई, प्रदेश उपाध्यक्ष राजन राई ‘समिप’, सचिव सर्मिला विश्वकर्मा, सचिवालय सदस्य सँगीता राई, नेपाल पत्रकार महासङ्घ खोटाङ अध्यक्ष हरिवोल आचार्य, पूर्व अध्यक्ष दमन राई, निवर्तमान अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति थियो । अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकारिता पेशालाई स्वतन्त्र, निष्पक्ष र व्यवसायिक बनाउन सङ्गठनमा आवद्ध पत्रकारहरुलाई सुझाव दिएका छन् ।
जिल्ला अधिवेशन उद्घाटन समारोहमा केन्द्रीय सदस्यहरु, पूर्व जिल्ला अध्यक्षहरु तथा सङ्गठनलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । केन्द्रीय सदस्यहरु डम्बरसिं राई र उजुर राई, पूर्व जिल्ला अध्यक्षहरु डिएम चाम्लिङ र सूर्य तामाङ तथा सहयोगदाताहरु समिर राई, भीषण राई, कृष्ण घिमिरे, शरद राई, किसन राई ‘दोबालिछा’लाई आयोजकले सम्मान गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट पत्रकारहरुको सङ्गठन प्रेस सेन्टर नेपाल खोटाङले पालिकास्तरीय समितिसमेत गठन गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा बराहपोखरी र साकेला गाउँपालिका बाहेक सबैमा सङ्गठन बिस्तार गरेको हो ।