दिक्तेलको सपिङ कम्प्लेक्समा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना

Halesi Khabar

खोटाङ, २९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना गरेको छ । चित्रकलाको माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनसँगै कला, साहित्य र मौलिक संस्कार÷संस्कृतिको जगेर्ना गर्नका लागि नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय स्थापना गरेको हो ।

दिक्तेलबजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्सको पाँचवटा कोठामा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज (सोमबार) औपचारिकरुपमा उद्घाटन गर्नुभएको छ । सङ्ग्रहालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कार÷कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनमा नगरपालिकाले शुरुवात गरेको काम प्रशंसनीय भएको प्रतिक्रिया दिनुभएको छ ।

नगरपालिकाले वि.सं. २०८० असोज–१७ गतेदेखि २० गतेसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुमा आयोजना गरिएको कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका १८२ वटा चित्रलाई सङ्कलन गरेर दिक्तेलबजारमा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयमा राखिएको छ ।

अमेरिकाकी चित्रकार एवम् प्रोफेसर जोय वल्फ, लातभियाकी चित्रकार आन्दा पैकाने, नेपाली चित्रकारहरु रतनकुमार राई, विजय थापा लगायत ५० देशका चित्रकारलाई खोटाङमै बोलाएर जिल्लाका दशवटै स्थानीय तहका धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थलहरु तथा धर्म, संस्कार, संस्कृति, परम्परा र रहनसहनलाई क्यानभासमा उतार्न लगाइएको थियो । चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी विश्वमा ख्यातिप्राप्त चित्रकारले बनाएका तथा अन्य चित्रकारले तयार पारेका क्यानभास चित्रलाई समावेश गरेर नगरपालिकाले वि.सं. २०८० फागुन–५ गतेदेखि १७ गतेसम्म नेपाल कला परिषद, बबरमहल, काठमाडौँमा चित्रकला प्रदर्शनी आयोजना गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक उद्घाटन गर्नुभएको चित्रकला प्रदर्शनीमा देशका उच्चपदस्थ व्यक्तिहरुले प्रत्यक्ष अवलोकन गर्नुभएको थियो । धनु आर्ट स्टुडियो काठमाडौँसँगको सहकार्यमा १३ दिनसम्म आयोजना गरिएको चित्रकला प्रदर्शनीको औपचारिक समापन तत्कालीन प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो ।

संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाका माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने काम गरेको छ । चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयले पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरेका छौँ । यसलाई थप प्रवद्र्धन गर्न सबैको सहयोग आवश्यक छ ।”

धनु आर्ट स्टुडियो काठमाडौँसँगको सहकार्यमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा रु १८ लाख खर्च भएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको आयोजनामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ कार्यक्रमलाई जिल्लाका कतिपय स्थानीयले भने अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया