वाईसियलका जिल्ला संयोजक राई बने माओवादी केन्द्र दिप्रुङ चुइचुम्माको पार्टी अध्यक्ष

Halesi Khabar

खोटाङ, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्यसमितिको अध्यक्षमा किसान राई ‘दोबालिछा’ चयन हुनुभएको छ । डाँडागाउँमा आइतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो गाउँपालिका सम्मेलनले राईको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।

गाउँपालिका अध्यक्षमा चयन हुनुभएका राई योङ कम्युनिष्ट लिग (वाईसियल)का जिल्ला संयोजक समेत हुनुहुन्छ । माओवादीको दिप्रुङ चुइचुम्मा गाउँपालिका सम्मेलनले अधिकांश युवा पुस्तालाई गाउँपालिका कार्यसमितिमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा नारायण राई, कर्ण राया र विजय राई, सचिवमा अरुण राई, सहसचिवमा सुनिता राई र कोषाध्यक्षमा प्रमिला विश्वकर्मा चयन हुनुभएको छ । गाउँपालिका कार्यसमिति चयन हुनुभएका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङमाङले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ ।

कार्यक्रममा अर्थ राजनीतिक विश्लेषक एवम् संविधानसभा सदस्य हरि रोका, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य रामकुमार राई ‘पासाङ’, केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी ‘धिरेन’, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, प्रदेश सदस्यहरु होमकाजी आचार्य ‘विनोद’, टंक थापा, कल्पना राई ‘सोनिया’, गोपालचन्द्र राई लगायतको उपस्थिति रहेको थियो । माओवादी केन्द्र खोटाङले जिल्लाका दशवटै स्थानीय तह तथा वडा सम्मेलनमा जुटेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसअघि ऐसेलुखर्क गाउँपालिकाको सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले गेशकुमार राईको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको छ ।

 

तपाईको प्रतिक्रिया