खोटाङ, २७ पुस । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । गत असोज–१२ गते आएको भीषण बाढीले मोटरेबल पक्की पुल बगाएपछि त्यसको वैकल्पिक व्यवस्थापन गर्न अस्थायी बेलिब्रिज जडान गरिएको हो ।
खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सीमानामा पर्ने फोक्सिङटारमा रु एक करोड दुई लाख ९४ हजार ६७७ लागतमा सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजना कार्यालयका प्रमुख पशुपति ज्ञवाली जानकारी दिनुभयो । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्न प्रमुख मार्गमा पर्ने फोक्सिङटारमा ५० मिटर लम्बाई र साढे तीन मिटर चौडाई रहेको अस्थायी बेलिब्रिज आरएन कन्स्ट्रक्सन मल्टिपर्पोज प्रा.लि. उदयपुर कटारीले जडान गरेको हो ।
हिउँदभर करिब छ महिना सञ्चालन हुने अस्थायी बेलिब्रिज आज (शनिबार) कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको छ । फोक्सिङटार पुल बाढीले बगाएको साढे तीन महिनापछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएसँगै खोटाङबाट यसअघि बिच्छेद भएको पूर्वी तराईसँगको सिधा यातायात पुनः नियमित भएको छ ।
अस्थायी बेलिब्रिज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले जिल्लावासीको समस्या दीर्घकालीनरुपमा समाधान गर्न मोटरेबल पक्की पुल निर्माणका लागि पहल गरिरहेको बताउनुभएको छ । “फोक्सिङटार पुल खोटाङवासीको दैनिकीसँग जोडिएको छ । अहिले जोडिएको बेलिब्रिजले अस्थायीरुपमा भएपनि सुविधा पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “मोटरेबल पक्की पुल नभएसम्म समस्या रहिरहन्छ । यो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न पहल गरिरहेको छु । स्रोत सुनिश्चित हुने बित्तिकै पक्की पुल निर्माणको काम अगाडि बढाउँछौँ ।”
फोक्सिङटारमा पक्की पुल निर्माण नहुँदासम्म हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्षातको समयमा झिक्ने हुँदा फेरि वर्षाको समय शुरु हुनासाथ उदयपुर र खोटाङ जिल्लाको सीधा यातायात आवागमन बन्द हुनेछ । हिउँदमा जसोतसो बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सीधा यातायात जोडिए पनि वर्षामा पुनः समस्या हुने भन्दै खोटाङवासीले सरकारलाई स्थायी पुल निर्माण गर्न माग गर्दै आइरहेका छन् ।
फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान भएसँगै जिल्लाासीलाई तराईका जिल्ला आवतजावत गर्न र व्यापारीहरुलाई दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको उद्योग वाणिज्य सङ्घ खोटाङका राजनप्रसाद अध्यक्ष आचार्यले बताउनुभयो । “फोक्सिङटार पुल बाढीले बगाएपछि मध्यपहाडी लोकमार्गको घुर्मी–कटारी हुँदै सामान ढुवानी गर्नुपर्ने बाध्यता थियो । अस्थायीरुपमै भएपनि आजबाट फेक्सिङटारमा बेलिब्रिज जडान भएको छ”, उहाँले भन्नुभयो, “फेक्सिङटारमा जडान गरिएको बेलिब्रिज सञ्चालनमा आएपछि आवातजावतका साथै ढुवानी भाडासमेत घट्छ । बेलिब्रिजका कारण जिल्लामा बिक्री÷वितरण भइरहेका हरेक सामानको मूल्य प्रति केजी रु २ सस्तो हुन्छ ।”
फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले मङ्सिर–२८ गते ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि उक्त बजेटबाटै अस्थायी बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ ।
फोक्सिङटारमा वि.सं. २०७९ सालमा १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयअघिदेखि वर्षेनी अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो । तर, दुई वर्ष नबित्दै फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएपछि जिल्लावासीका लागि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो ।
ठेकेदार कम्पनी गौरी–पार्वती–वाईपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै वि.सं. २०७९ पुस–७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । निर्माणको जिम्मा लिने ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा मोटरेबल पक्की पुल बन्न दश वर्ष कुर्नु परेको थियो ।