हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम

Halesi Khabar
77 Shares

खोटाङ, २६ पुस । रैथाने बाली संरक्षण तथा प्रवद्र्धन अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण शुरु गरेको छ । नगरसभाबाट पारित बदाम प्रवद्र्धन कार्यक्रमअन्तरगत पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई उनीहरुको गाउँमै लगेर प्रोत्साहनबापतको रकम वितरण शुरु गरेको हो ।

पहिलो चरणमा नगरपालिकाको वडा नं.–२ डिकुवा र वडा नं.–८ धितुङका किसानलाई प्रोत्साहन रकम वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रवीन भट्टराईले जानकारी दिनुभएको छ । कृषि शाखा प्रमुख भट्टराईका अनुसार धितुङका ९८ जना किसानलाई रु तीन लाख ९४ हजार र डिकुवाका छ जना किसानलाई रु २१ हजार प्रोत्साहनबापतको रकम वितरण गरिएको हो ।

यस वर्ष धितुङका ९८ जना किसानले ९९७ मुरी र डिकुवाका छ जना किसानले ५० मुरी बदाम उत्पादन गरेको नगरपालिकाले जनाएको छ । एघार वडा रहेको उक्त नगरपालिकामा यो वर्ष करिब दुई हजार मुरी बदाम उत्पादन भएको अनुमान गरिएको कृषि शाखा प्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।

रैथाने बाली संरक्षण तथा प्रवद्र्धन गर्ने नगरपालिकाको नीतिअनुसार बदाम उत्पादनमा वृद्धि गर्न किसानलाई प्रोत्साहन रकम वितरण शुरु गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । “प्रोत्साहन रकमका लागि किसानले निवेदन दिनुपर्ने हुन्छ । निवेदनको आधारमा कृषिका कर्मचारी गएर मूल्याङ्कन गरेपछि पाँच मुरीभन्दा बढी बदाम फलाएको पाइए त्यसको आधारमा प्रोत्साहन रकम दिइन्छ”, उहाँले भन्नुभयो, “पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रतिमुरी रु ३०० का दरले रु दुई हजार ५०० र त्यसभन्दामाथि फलाउनेलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम वितरण शुरु गरिएको छ । यो अभियानले किसानहरु उत्साहित भएका छन् ।”

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, ७ महादेवस्थान, ५ दुर्छिम, ११ राजापानीमा प्रोत्साहन रकम वितरण गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदाम खेती प्रवद्र्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यक्रम ल्याएपछि कृषकहरु उत्साहित भएका छन् ।

नगरपालिकाको अधिकांश भू–भागमा उत्पादन हुने बदाम खेलीलाई प्रवद्र्धन गर्दै ब्रान्डिङ गरेर बिक्री गर्ने योजनासहित कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो । “बदाम बिक्रीबाट नगरपालिकाका कृषकले अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् । कृषकले उत्पादन गरेका बदामलाई आगामी दिनमा ब्रान्डिङ गर्ने योजना छ । अहिले व्यवसायीले ठेगेर ट्रकमार्फत अन्यत्र लैजाने गरेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ । हामीले आर्थिक वर्ष २०८०÷८१ मा नगरसभाबाटै पारित गरेर गहत र बदाम खेती प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम ल्याएका थियौँ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ । बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।”

हलेसीका कृषकले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुङ्गा लगायतमा बिक्री गर्न लैजाने गरेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र लामो समयअघिदेखि बदाम खेती हुँदै आएको छ ।

विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रुपमा पनि प्रयोग हुने गरेको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रुपमा बदाम लैजाने गरेका हुन् ।

नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवद्र्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्रसमेत सञ्चालन गरिएको छ । आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको रु ३८ लाख ३८ हजार ८३१ लगानीमा कृषि सङ्कलन केन्द्र स्थापना गरेर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया