खोटाङ, २५ पुस । दिक्तेलबाट काठमाडौँ जाँदै गरेको टाटा सुमो तोडफोड आरोपमा पक्राउ परेका १३ जना युवाविरुद्ध प्रहरीले आज (बिहीबार) मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । वीपी राजमार्ग अन्तरगत दिक्तेल–काठमाडौँ सडकखण्डको भकुण्डेबेँसीस्थित पात्लेखेतमा बुधबार साँझ तुवाचुङ मारातिका यातायात प्रा.लि. खोटाङको ना १ ज ६१७२ नम्बरको सुमो गाडी तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेका १३ युवालाई जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकले आपराधिक उपद्रव कसूर अन्तरगतको मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।
गाडी तोडफोड भएको घटनापछि सार्वजनिक भएको भिडियो क्लिप तथा चालकले दिएको ठाडो उजुरीको आधारमा पक्राउ परेका १३ जना युवाविरुद्ध आपराधिक उपद्रव कसूर अन्तरगतको मुद्धा दर्ता गरेर कारबाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मिनबहादुर घलेले बताउनुभयो । “पक्राउ परेका उनीहरु १३ जनाविरुद्ध मुद्धा दर्ता गरेर थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप गरिएको छ । मुद्धा दर्ता भएलगत्तै उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “पक्राउ परेका उनीहरु दुईवटा निजी गाडीमा सवार गरेका रहेछन् । उनीहरुले प्रयोग गरेका गाडीसमेत नियन्त्रणमा लिइएको छ ।”
प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१० का ३९ वर्षीय राजेश परियार, सोही नगरपालिकाको वडा नं. ८ का २६ वर्षीय विजय तामाङ, महाभारता गाउँपालिका–३ का २६ वर्षीय छोइकु दोङ, तेमाल गाउँपालिका–७ का तेन्जिङ तामाङ, सोही ठाउँका १८ वर्षीय भिसान तामाङ, बेथानचोक गाउँपालिका–६ का २४ वर्षीय सुनिल तामाङ र रोशी गाउँपालिका–१२ का २२ वर्षीय आदेश स्याङ्तान रहेका छन् । यस्तै, सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–११ का २३ वर्षीय नरेन्द्र माझी र २४ वर्षीय सुनिल माझी, सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका–४ का २६ वर्षीय प्रेम श्रेष्ठ, दाङ जिल्लाको घोराही उपमहानगरपालिका–११ का ३२ वर्षीय टेकबहादुर पुन, काभ्रपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका घर बताउने अन्दाजी २६ वर्षीय ब्राण्डेट लामा र सोही गाउँपालिकाको तेमाल गाउँपालिका–५ घर बताउने अन्दाजी २६ वर्षीय युक्स तामाङ रहेका छन् ।
सार्वजनिक यातायातका सवारी साधनमाथि तोडफोड गर्ने उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २८५ बमोजिम मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ । उक्त मुद्धामा दोषी ठहर भएको खण्डमा उक्त व्यक्तिले तीन वर्षसम्म कैद सजाय र रु ३० हजारसम्म जरिवाना तथा बिगो बराबरको क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था छ ।
गाडी तोडफोडको घटनापछि फरार बनेका उनीहरुलाई गएराति विभिन्न ठाउँबाट पक्राउ गरेर सिरासतमा राखिएको प्रहरीले जनाएको छ । पक्राउपछि प्रहरी हिरासतमा राखिएका उनीहरु विरुद्ध सुमो चालक केवलबहादुर राईले बिहीबार जाहेरी दिनुभएको हो ।
यात्रु लिएर काठमाडौँ हिँडेको सुमोमाथि तोडफोड भएपछि चालक राईले गाडी भगाएर ज्यान बचाएपछि यातायात प्रा.लि.का अध्यक्ष टेकिन्द्र राईले जानकारी दिनुभएको छ । “गाडी तोडफोडमा संलग्नलाई कडा कारबाही हुनुपर्छ । तोडफोडमा संलग्नहरुले मादक पदार्थ सेवन गरेका थिए भन्ने बुझिएको छ”, उहाँले भन्नुभयो, “अराजक गतिविधि गर्ने छुट कसैलाई पनि छैन । पक्राउ परेका उनीहरुमाथि कडाभन्दा कडा कानूनी कारबाहीका साथै उचित क्षतिपूर्तीको व्यवस्था हुनुपर्छ ।”
मध्यपहाडी लोकमार्ग अन्तरगत छिमेकी जिल्ला भोजपुर हुँदै दिक्तेलबाट यात्रु लिएर काठमाडौँतर्फ गइरहेको गाडी बीच सडकमा रोकेर तोडफोड गरेपछि त्यसमा सवार यात्रुहरु बिचल्लीमा परेका थिए । ठूलो समूहमा आएका व्यक्तिहरुले गाडी तोडफोड गरेपछि बिचल्लीमा परेका यात्रुहरुलाई अर्को गाडीको व्यवस्था गरेर गन्तव्यसम्म पु¥याइएको यातायात प्रा.लि.का अध्यक्ष राईले जानकारी दिनुभएको छ ।
गत असोज–१० र ११ गतेको अविरल वर्षाका कारण रोशीखोला आसपासमा गएको पहिरोले क्षतिग्रस्त बनेको उक्त सडकखण्ड साँघुरो छ । विपरित दिशाबाट आउँदै गरेको गाडीलाई साइड नदिएको भन्दै उनीहरुले दिक्तेलबाट जाँदै गरेको सुमोमा चारैतिर तोडफोड गरेको भिडियो क्लिपमा देख्न सकिन्छ । तस्वीर उपलब्ध छ ।