हलेसी तुवाचुङका कृषक समूहलाई ६० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

Halesi Khabar
77 Shares

खोटाङ, २२ पुस । हलेसी तुवाचुङ नगरपालिकाले १२ वटा कृषक समूहलाई हाते ट्र्याक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हाते ट्र्याक्टर नगरभित्रका विभिन्न १२ वटा कृषक समूहलाई उपलब्ध गराइएको हो ।

प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “हाम्रो नगरपालिका सुख्खाग्रस्त क्षेत्रमा पर्छ । घाँस अभावका कारण कृषकहरुले गोरु पाल्न छाडिसकेका छन्”, उहाँले भन्नुभयो, “खेतबारी जोत्ने गोरु भएका कारण धेरै कृषकहरुले आफ्नो खेतबारी बाँझो छाडेका छन् । बाँझो जमिनलाई सदुपयोग गर्दै प्रविधिमैली कृषि प्रणाली लागू गर्न विभिन्न १२ वटा कृषक समूहलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको हो ।”

नगर प्रवक्ता गिरीका अनुसार वडा नं. १ बाहुनीडाँडामा एक, वडा नं. ४ बडहरेमा एक, वडा नं. ५ दुर्छिममा एक, वडा नं. ७ महादेवस्थानमा एक, वडा नं. ८ धितुङमा एक, वडा नं. ९ सल्लेमा एक तथा वडा नं. ११ राजापानीमा छवटा हाते ट्र्याक्टर वितरण गरिएको छ । गोरु अभावमा खनजोत गर्न नपाएर समस्या भोग्दै आएका कृषकहरु लागत साझेदारीमै भएपनि ६० प्रतिशत अनुदान (रु ४१ हजार ४००)मा नगरपालिकाले उपलब्ध गराएको हाते ट्र्याक्टर पाएपछि हर्षित भएका छन् ।

कृषि क्षेत्रमा लगानी बढाएको उक्त नगरपालिकाले रैथाने बाली (गहत, जुनेलो र बदाम)मा अनुदानसमेत उपलब्ध गराएको छ । धानखेती कम तथा मकै र कोदोमात्र उत्पादन हुने उक्त नगरपालिकामा गहत, जुनेलो र बदाम उत्पादन गर्ने कृषकलाई उनीहरुले उत्पादन गरेको कृषि उपजको आधारमा अनुदान दिने गरिएको हो ।

तपाईको प्रतिक्रिया