खोटाङ, २१ पुस । खोटेहाङ गाउँपालिकामा सम्पन्न छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिम्पानी माध्यमिक विद्यालय सिम्पानी र भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारले चुमेको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा आज (आइतबार) सम्पन्न पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समान १५÷१५ अङ्कसहित सिम्पानी र भगवती माविले प्रथम उपाधि चुमेको हो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा समान नौँ÷नौँ अङ्कसहित इन्द्रेणीपोखरी माध्यमिक विद्यालय इन्द्रेणीपोखरी र भानु माध्यमिक विद्यालय लिच्कीराम्चे द्धितीय तथा समान छ÷छ अङ्कसहित विणा माध्यमिक विद्यालय लिकुवापोखरी र भाषा माध्यमिक विद्यालय बडकादियाले तेस्रो भएका छन् । छवटा विद्या (भलिबल, रिले दौड, लामो दूरीको दौड, छेलो, हाईजम्प र लङजम्प) प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र १२ कास्यगरी ३६ पदकका लागि प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डसहित नगद रु एक लाख ११ हजार १११ को साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजयी विद्यालय तथा खेलाडीलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले पुस्कार प्रदान गर्नुभएको छ ।
पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित ११ वटा माध्यमिक विद्यालयका ३३० जना छात्रछात्रा सहभागी भएका थिए । प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि खाना तथा खाजाको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले रु पाँच लाख तथा राष्ट्रिय खेलकुद परिषद्ले रु एक लाख उपलब्ध गराएको प्रतियोगिताका सहआयोजक भाषा माविका प्रधानाध्यापक राजु खड्काले जानकारी दिनुभएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गर्नुभएको थियो ।
जिल्लाको दक्षिणी क्षेत्रमा उक्त गाउँपालिकामा वर्षेनी फरक–फरक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने गरिएको जनाइएको छ । नौँवटा वडा रहेको उक्त गाउँपकालिकामा यसअघि महेन्द्रोद्धय माध्यमिक विद्यालय वाप्लुखाले पाँचौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको थियो ।
दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म अन्य स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गरेका छैनन् । पालिकास्तरीय प्रतियोगितामा छनौट भएकाहरु जिल्ला हुँदै प्रदेश तथा सङ्घमा समेत सहभागी हुन पाउँछन् ।