लफ्याङमा अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता : सोल्माको विजयी यात्रा शुरु

Halesi Khabar
56 Shares

खोटाङ, २० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा शुरु भएको ‘मझुवागढी कालिका भगवती फुटबल कप–२०८१’ अन्तरगत दोस्रो संस्करणको खुला अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा सोही नगरपालिकाको वडा नं. २ सोल्माले आफ्नो विजयी यात्रा शुरुवात गरेको छ । लफ्याङस्थित रणजितमान राई खेलमैदानमा आज (शनिबार) भएको उद्घाटन खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलालाई शून्यका विरुद्ध दुईगोल गर्दै सोल्माले विजयी यात्रा शुरुवात गरेको हो ।

वडा कार्यालय लफ्याङको आयोजना तथा नमूना स्पोर्टस् क्लब लफ्याङको सहआयोजनामा शुरु भएको अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न दशवटा वडाका खेलाडी टोली सहभागी भएका छन् । अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिताका विजेता टोलीले नगद रु एक लाख ५१ हजार १११ तथा उपविजेता टोलीले नगद रु एक लाख एक हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सहआयोजक नमूना स्पोर्टस् क्लबका अध्यक्ष काजीमान राईले जानकारी दिनुभयो ।

खुला अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा सेमिफाइनल पुग्ने दुईवा टोलीले नगद रु ७१ हजार ११० को साथमा मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । प्रतियोगिता अवधिभरका बेस्ट प्लेयर, बेस्ट डिफेन्डर, बेस्ट मिडफेल्डर, बेस्ट किपर, बेस्ट कोच, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीलाई जनही नगद रु पाँच हजारको साथमा ट्रफी, मेडलर प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

चार दिनसम्म सञ्चालन हुने खुला अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिताको औपचारिक शनिबार उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गर्नुभएको छ । लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेको अध्यक्षतामा उद्घाटन गरिएको पुरुष फुटबल प्रतियोगितामा जिल्ला समन्वय समितिका पूर्वप्रमुख बबि चाम्लिङ, सदस्य कला राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महेश राई, सोल्माका वडाध्यक्ष एवम् जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवबिक्रम विक्रम राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

दोस्रो संस्करणको अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा सहभागी टोलीले खोटाङ जिल्लाभित्रका चार जना, जिल्ला बाहिरका तीन जना तथा सम्बन्धित वडाभन्दा बाहिरका सात जना खेलाडी समावेश गराएका छन् । ‘जित्नलाई होइन, सिक्नलाई खेलकुद’ नारा दिइएको दोस्रो संस्करणको खुला अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता शुभेच्छुकबाट चन्दा सङ्कलन गरेर आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा साँघुरीगढी धनकुटा र लफ्याङ, नेर्पा र रतन्छा तथा दिक्तेल र बाम्राङबीच प्रतिस्पर्धा हुने जनाइएको छ भने, सावाकटहरे र नुनथलाल बाइ पाएर अर्को चरण प्रवेश गरेका छन् । मझुवागढी कालिका भगवती फुटबल कप–२०८१ अन्तरगत दोस्रो संस्करणको खुला अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल यही पुस–२४ गते हुने आयोजकले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा हिउँद लागेसँगै विभिन्न स्पोर्टस् क्बलहरुको आयोजनामा फुटबल तथा भलिबल प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् । जिल्लामा सञ्चालित अधिकांश प्रतियोगिता शुभेच्छुकबाट चन्दा सङ्कलन गरेर आयोजना गर्ने गरिएको आयोजकहरुले बताउँदै आएका छन् ।

मुलुकमा सङ्घीयता लागू भएसँगै जिल्लाका दशवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा खेलमैदानहरु निर्माण गरेका छन् । जिल्लामा निर्माण गरिएका खेलमैदानहरु स्तरोन्नति नहुँदा हिउँदको समयमा मात्र उपयोग गर्न मिल्ने अवस्थाका छन् ।

तपाईको प्रतिक्रिया