खोटाङ, १७ पुस । तत्कालीन राजा वीरेन्द्र शाहद्धारा गठित राष्ट्रिय पञ्चायत नेपालका उपाध्यक्ष स्वर्गीय पर्शुराम राईको जेठी श्रीमती मेनुका राईको निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–६ नेर्पा स्थायी घर भएका उपाध्यक्ष राईकी जेठी श्रीमती मेनुकाको ९२ वर्षको उमेरमा सुमेरु अस्पताल काठमाडौँमा उपचारको क्रममा निधन भएको हो ।
मृतक राईको पार्थिव शरीर बुधबार हेलिकप्टरबाट नेर्पास्थित आफ्नै घरमा ल्याएर दाहासंस्कार गरिएको छ । आमाको योगदान र प्रेरणाको कारण बुबाले राष्ट्रिय पञ्चायत नेपालको उपाध्यक्ष भएर जिल्ला र देशको लागि ठूलो युगदान पु¥याउनुभएको छोरा निशान राईले जानकारी दिनुभयो ।
मृतक राईको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन बुधबार सयौँ मानिस नेर्पा पुगेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य एवम् निवर्तमान प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ तथा संविधानसभा सदस्य दुर्गाजयन्ती राई लगायत विभिन्न व्यक्तित्वहरुले पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
स्वर्गीय बुबा राईको हिन्दु धर्म अनुसार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको र आमाको भने किरात संस्कार अनुसार काजकिरिया गरिने कान्छो छोरो रविन राईले जानकारी दिनुभयो । मृतक राई दम्पतीको पाँच छोरा र तीन छोरी छन् ।