खोटाङ, १२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर वि.सं. २०५४ सालदेखि दूधचिया बेच्न थाल्नुभएकी विरसले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आउनुभएको छ ।
समुन्द्री सतहदेखि एक हजार ८२३ मिटर उचाईमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरुको भीड हरेक दिन बिहान ६ः०० बजेदेखि बेलुका अबेरसम्म लाग्ने गरेको छ । विरसको आफ्नै नामबाट (विरस होटल एण्ड लज’ नामाकरण गरेर स्थापना गर्नुभएको होटलमा चिसासँगै खाजाको रुपमा दूधको छाली र चिउरा खानेहरुको समेत उत्तिकै मात्रामा भीड लाग्ने गरेको छ ।
प्रति कप (गिलास) रु २० मा पाइने दूध हालेर पकाएको चिया दैनिकरुपमा तीन पटक खाने गरेको जालपा माध्यमिक विद्यालय नुनथलाका पूर्वप्रधानाध्यापक हेम नाछिरिङले बताउनुभयो । “विरस बहिनीको होटलमा खाएकोजस्तो स्वाद भएको चिया अहिलेसम्म कतै भेटेको छुइन । उहाँले पकाउनुभएको चियामा बेग्लै बास्ना र स्वाद छ”, उहाँले भन्नुभयो, “विरस बहिनीले बनाएको चियामा हालिने दूधमा कुनै मिसावट हुँदैन । लामो समय पकाएको दूध हालेर बनाएको चियामा कुराउनीको बास्ना आउँछ । स्थानीय कृषकले उत्पादन गरेका दूध बिना मिसावट भएकाले विरसले पकाएको चिया रसिलो छ ।”
विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ कुरुवा दूध खपत हुने गरेको पाइएको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका स्थानीय कृषकको घरबाट प्रति कुरुवा रु ४० मा दूध खरिद गर्ने गरिएको विरसले बताउनुभयो ।
एक पटक आफूले पकाएको चिया खाएका ग्राहकहरु स्वाद बिर्सन नसकेर पटकपटक फर्किएर आउने गरेको विरसले बताउनुभयो । “मैले पकाएको चिया धेरैले मन पराइदिनुभएको छ । मेरो होटलमा एक पटक आएर चिया खाएपछि पुनः फर्किएर आउने ग्राहकहरु धेरै छन्”, उहाँले भन्नुभयो, “राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लाका स्थानीयवासीसमेत यहाँ गाडी रोकेर चिया खान पस्नुहुन्छ । तपाईले पकाएको चिया बिर्सन नसकेर गाडी राकेर चिया खान आएको भन्दा खुशी लाग्छ ।”
नुनथलास्थित विरस होटलमा पाइने दूधचिया पछिल्लो समय जिल्लाकै पहिचान बनेको नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताउनुभयो । “नुनथलाको विरस होटलमा पाइने चिया नखाएका मानिस कमै होलान् । एकपटक नुनथलाको चिया खाएपछि त्यसको स्वाद बिर्सन निक्कै समय लाग्छ”, उहाँले भन्नुभयो, “मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र पनि हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर यस क्षेत्रमा सञ्चालित होटल तथा चिया पसलहरुको प्रवद्र्धन गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ । यसले स्थानीय सरकारको आम्दानीको स्रोतसमेत वृद्धि हुन्छ ।”
तीन सन्तानकी आमा विरसलाई पति मानसिं तामाङले सहयोग गर्दै आउनुभएको छ । शुरुमा खाना तथा खाजासमेत बिक्री गर्दै आउनुभएकी विरसले पछिल्लो समय चिया र छाली÷चिउरा मात्रै बिक्री गर्दै आउनुभएको छ ।
छाली र चिउरा प्रति बटुका रु १०० मा बिक्री गर्ने गरिएको विरसले बताउनुभएको छ । विरस होटलमा पाइने एक बटुका छाली र चिउरा खाएपछि दिनभर ढुक्क हुने ग्राहकहरुले बताउने गरेका छन् ।
एक छोरा र दुई छोरीकी आमा विरसले आफ्नो छोराछोरीको शिक्षादिक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले नै धान्नुभयो । विरसको ठुली छोरी सिर्जनाले स्नातकोत्तर उत्तिर्ण गर्नुभएको छ भने, कान्छी छोरी कविताले स्नातक तथा एकमात्र छोरा रोजन तामाङले कक्षा–१२ उत्तिर्ण गर्नुभएको छ ।
वि.सं. २०५१ सालकी सिर्जना, वि.सं. २०५३ सालकी कविता र वि.सं. २०५७ सालका रोजन तामाङ अहिले अध्ययनकै सिलसिलमा जापानमा हुनुहुन्छ । स्टुडेन्ट भिसा (विद्यार्थी प्रवेशाज्ञा) मा जापान पुगेका तीनैजना छोराछोरीलाई अहिले पढाइ तथा व्यवस्थापन खर्च दिनुनपर्ने भएकाले चिया बिक्रीबाट आएको रकम बचत गर्न शुरु गरिएको विरसले बताउनुभयो ।


