सुमो दुर्घटनाका गम्भीर घाइते दुर्गाप्रसाद राईको उपचारको क्रममा मृत्यु

Halesi Khabar

खोटाङ, १० पुस । सुमो दुर्घटनामा गम्भीर घाइते बन्नुभएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौँबाट यात्रु लिएर आउँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीस्थित राँटीमा दुर्घाटना हुँदा गम्भीर घाइते बन्नुभएका राईको जिल्ला अस्पताल खोटाङमा ल्याएर उपचार गर्नेक्रममा आज (बुधबार) मृत्यु भएको हो ।

बुधबार दिउँसो करिब ३ः०० बजेको समयमा भएको दुर्घटनामा पर्नुभएका राईलाई दुर्घटनास्थलबाट अचेत अवस्थामा उद्दार गरेर गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल ल्याइएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि अचेत अवस्थामा अस्पतालमा ल्याएर उपचार शुरु गरेको केही समयपछि स्वास्थ्यकर्मीले घाइते राईलाई बुधबार राति करिब ८ः०० बजे मृत घोषणा गरेको हो ।

दुर्घटनाका गम्भीर घाइते राईको टाउको तथा शरीरका विभिन्न अङ्गमा गहिरो चोट लागेकाले बचाउन नसकिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश सङ्ग्रौलाले बताउनुभयो । “अचेत अवस्थामा अस्पताल ल्याइ पु¥याइएका घाइते राईलाई बचाउने अन्तिम प्रयास ग¥यौँ । तर, सफल भएन”, उहाँले भन्नुभयो, “अस्पताल आइपुग्दा उहाँ (दुर्गाप्रसाद राई)को मुटुको धड्कन बन्द भइसकेको थियो । टाउको तथा शरीरका विभिन्न अङ्गमा गहिरो चोट लागेकाले उहाँको मृत्यु भएको हो ।”

गुडिरहेको सुमोको चक्कामा बाँसको भाटा अल्भिएपछि रोकेर झिक्नेक्रममा दुर्घटना भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभएको छ । एकजना मात्र यात्रु लिएर फेदीतर्फ जाँदै गरेको सुमो सडकभन्दा करिब २०० मिटर तल झरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सडकमै रोकेर राखेको सुमो आफै गुडेर दुर्घटना भएपछि फरार भएका सुमो चालक ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल निवासी ३६ वर्षीय सत्रुधन राई प्रहरी चौकी खार्मीको सम्पर्कमा पुगेका थिए । प्रहरीको सहारामा जिल्ला प्रहरी कार्यालय आइपुगेका चालक राईलाई जिल्ला अस्पताल खोटाङ लगेर स्वास्थ्य परीक्षण गरेपछि हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभएको छ ।

काठमाडौँबाट यात्रु लिएर आज (बुधबार) बिहान हिँडेको सुमो खोटाङस्थित बीचबीचमा पर्ने विभिन्न गाउँका यात्रु ओराल्दै फेदीतर्फ जानेक्रममा रोकेर राखेको अवस्थामा दुर्घटना भएको जनाइएको छ । दुर्घटनास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट उत्तरी क्षेत्रमा पर्छ ।

मृतक राईको शव परक्षिणका लागि जिल्ला अस्पताल खोटाङको शव परीक्षण गृहमा राखिएको छ । भोलि (बिहीबार) मृतकका आफन्त आएपछि परीक्षण गरेर अन्तिम दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया