शुभ खोटाङ यातायात प्रा.लि. द्धारा यातायात सेवा शुभारम्भ

Halesi Khabar

खोटाङ, ९ पुस । शुभ खोटाङ यातायात प्रा.लि. बुइपा खोटाङले लामो तथा छोटो दूरीको यातायात सेवा शुरुवात गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका १३ जना युवाले दशवटा सवारी साधन खरिद गरेर आज (मङ्गलबार)बाट लागू हुनेगरी यातायात सेवा शुरुवात गरेको हो ।

छोटो दूरी अन्तरगत जिल्लाभरी तथा लामो दूरी अन्तरगत काठमाडौँ, गाईघाट, इटहरी, धरान र विराटनगरसम्मको यातायात सेवा दिनेगरी बुइपामा काउण्टर स्थापना गरिएको अध्यक्ष डार्विन चाम्लिङले जानकारी दिनुभयो । हरेक दिन बिहान छ बजे सम्बन्धित गन्तव्यस्थलका लागि सवारी साधन छुटाउनेगरी तालिका बनाएर यातायात सेवा शुभारम्भ गरिएको जनाइएको छ ।

दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलका लागि एकतर्फी भाडा रु एक हजार ३०० निर्धारण गरिएको अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो । गाईघाटका लागि रु ९००, इटहरीका लागि रु एक हजार, धरानका लागि रु एक हजार ३०० र विराटनगरका लागि रु एक हजार ४०० भाडा निर्धारण गरिएको छ ।

पहिलो चरणमा दुईवटा इलेक्ट्रोनिक जिप तथा एउटा सुमो र सातवटा अटोमार्फत सेवा शुरुवात गरिएको जनाइएको छ । लामो दूरीको सवारी साधनमा प्रत्येक दिन एकजना बिरामीलाई निःशुल्क तथा विद्यार्थीलाई दश प्रतिशत छुट दिने निर्णय गरिएको अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो ।

बुइपामा मुख्य काउण्टर स्थापना गरेर यातायात सेवा शुभारम्म गरेको यातायात प्रा.लि.ले केही दिनपछि काठमाडौँ, गाईघाट, इटहरी, धरान र विराटनगरमा समेत काउण्टर स्थापना गर्ने जनाएको छ । बुइपामा स्थापना गरिएको काउण्टर वडाध्यक्ष दिनेश राईले मङ्गलबार रिबन काटेर औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया