रसुवाघाट–सिम्पानी सडकखण्डमा कालोपत्रको काम शुरु

Halesi Khabar

खोटाङ, ७ पुस । रसुवाघाट–पाँचधारे सडकखण्डको रसुवाघाटदेखि सिम्पानीसम्मको १५ किलोमिटर सडकमा कालोपत्रको काम शुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४६ करोड ७५ लाख ९८ हजार ६५७ मा उक्त सडक कालोपत्रको काम शुरु गरिएको हो ।

खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेस्थित रसुवाघाटबाट सिम्पानी–रोक्सिङभञ्ज्याङ हुँदै भोजपुरको पाँचधारे जोड्ने सडकमा शुरु गरिएको कालोपत्रको काम कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गर्नुभएको छ । आफू मन्त्री भएको १०० दिन पुगेको अवसर पारेर मन्त्री राईले शनिबार गृह जिल्ला खोटाङ आएर उक्त सडक कालोपत्रको औपचारिक रुपमा शिलान्यास गर्नुभएको हो ।

सडक शिलान्यास कार्यक्रममा मन्त्रालयका सचिवसँगै खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई, बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जरा, रावाबेँसी गाउँपालिकाका प्रमुख फटिककुमार श्रेष्ठ, केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राई, हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेशकुमार राउतलगायत विभिन्न वडाका वडाध्यक्षसँगै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले सम्झौता मितिभित्र रसुवाघाट–पाँचधार सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र गरिसक्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिनुभएको छ ।

लामो समयदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको उक्त सडकको रसुवाबाट सिम्पानीसम्मको १५ किलोमिटर सडक कालोपत्र हुनेछ । ठेक्का सम्झौताअनुसार साढे पाँच मिटर फराकिलो सडक ५ सेन्टीमिरटको कालोपत्रे हुनेछ ।

कालोपत्र थालिएको सडकको दुवैतर्फ एक मिटर सोल्जर तथा एक मिटर दश सेन्टीमिटरको नाली रहने पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ । याक्थुम्हाङ÷रेग्मी÷चुरिया जेभी निर्माण कम्पनीले उक्त सडक कालोपत्रको जिम्मा लिएको हो ।

वि.सं. २०८१ साउन–७ गते सम्झौता भएको सडक कालोपत्रेको ठेक्काको म्याद ३६ महिना अर्थात २०८४ साउन–६ गतेसम्म रहनेछ । सम्झौता मितिभित्रै काम सम्पन्न गरेर सडक हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ ।

समयमै काम सम्पन्न भए खोटाङ जिल्लाभित्र पर्ने मध्यपहाडी लोकमार्ग बाहेक कालोपत्र हुने पहिलो जिल्लाको सडक रसुवाघाट–सिम्पानी सडक बन्ने छ । ट्रयाक ओपन भएको लामो समयसम्म वर्षाद्मा हिलाम्मे र हिउँद्मा धुलाम्मे रहने रसुवाघाट–पानँचारे सडक अबको ३६ महिनाभित्र कालोपत्र हुने निश्चित भएको हो ।

रसुवाघाट–पाँचधारे सडक कालोपत्र सम्पन्न भएपछि खोटेहाङ गाउँपालिकासँगै जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय नागरिकलाई पूर्वी तराईका जिल्ला आवतजावतमा सहज हुनेछ । हिलो र धुलोका कारण उक्त सडक पटक–पटक अवरुद्ध हुँदा सास्ती खेप्दै आएका स्थानीयवासी ढिलै भए पनि कालोपत्र हुने भएपछि हर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया