पत्रकार महासङ्घको भवन बनाइदिन माग गर्दै भौतिक पूर्वाधारमन्त्री राईलाई ज्ञापन

Halesi Khabar

खोटाङ, ३० मङ्सिर । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङले कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश सरकारका पवक्तासमेत रहनुभएका मन्त्री राईलाई पत्रकार महासङ्घ खोटाङ शाखाका नवनिर्वाचित कार्यसमितिले महासङ्घको भवन निर्माणका लागि आवश्यक पहल गरिदिन माग गर्दै आज (आइतबार) ज्ञापनपत्र बुझाएको हो ।

पत्रकार महासङ्घले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै मन्त्री राईले यसै वर्षबाट कार्यान्वयन हुनेगरी बहुवर्षे योजना बनाएर पत्रकार महासङ्घको भवन निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मन्त्री राईले पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन दिक्तेलमा आयोजना गर्नुभएको कार्यक्रममा पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष हरिवोल आचार्यले ज्ञापनपत्र बुझाउनुभएको हो ।

कोशी प्रदेशभित्र पर्ने १४ जिल्लामध्ये खोटाङ शाखामा मात्र पत्रकार महासङ्घको भवन नभएकाले भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्रकुमार राईलाई बजेट व्यवस्था गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष आचार्यले बताउनुभयो । “पत्रकार महासङ्घको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा आफ्नै छ । यो आर्थिक वर्ष महासङ्घको भवन निर्माणका लागि प्रदेशबाट रु २० लाख बजेट पनि विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारबाट विनियोजित बजेटले भवन निर्माण सम्पन्न हुने सम्भावना छैन । त्यसैले आवश्यक बजेटको व्यवस्था गरिदिन माननीय मन्त्री ज्यूलाई ज्ञापनपत्र बुझाएका हौँ । मन्त्री ज्यूले सकारात्मक रुपमा लिनुभएको छ ।”

पत्रकार महासङ्घ खोटाङ शाखाको भवन निर्माणका लागि कृषिविज्ञ मदन राईले दिक्तेलस्थित रत्नपार्क नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईले वि.सं. २०६३ सालमा निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा यसअघि ढुङ्गा÷माटोको कच्ची भवन निर्माण गरिए पनि उपयोगविहीन भएको थियो ।

लामो समय उपयोगविहीन बनेको पत्रकार महासङ्घको भवन भत्काएर पक्की भवन निर्माणको काम शुरु गरिएको पत्रकार महासङ्घ खोटाङ शाखाका निवर्तमान अध्यक्ष दिलीप खत्रीले बताउनुभएको छ । निवर्तमान अध्यक्ष खत्रीका अनुसार पत्रकार महासङ्घको पक्की भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर घडेरी सम्याउने काम सम्पन्न गरिएको छ ।

वि.सं. २०६१ सालमा स्थापना भएको पत्रकार महासङ्घ खोटाङ शाखाको कार्यालय अहिले भाडाको घरमा सञ्चालन भइरहेको छ । पत्रकार महासङ्घको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा आफ्नै नाममा भएपनि बजेट अभावका कारण पक्की भवन निर्माण गर्न नसकिएको हो ।

तपाईको प्रतिक्रिया