खोटाङ, २७ मङ्सिर । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा अध्यक्षसहित सबै पदका उम्मेदवार सर्वसम्मत् निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङका नेताहरुको संयुक्त पहलमा पत्रकार महासङ्घ खोटाङका अध्यक्षसहित कार्यसमिति सर्वसम्मत् निर्वाचित गराएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार अध्यक्षमा हरिवोल आचार्य, उपाध्यक्षमा चिसाङ शेर्पा र सविना अछामे परियार, सचिवमा राजकुमार भट्टराई, सहसचिवमा मनोज आचार्य र राजन ठटाल तथा कोषाध्यक्षमा उजुर राई निर्विरोध चयन हुनुभएको छ । एघार सदस्यीय जिल्ला कार्यसमितिको सदस्यहरुमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेलसमेत निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कृष्ण आचार्यले जानकारी दिनुभयो ।
उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा वा दाबी÷बिरोध आएको खण्डमा आज (मङ्सिर–२७ गते) बिहान ११ः०० बजेसम्म निवेदन दिनुपर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको समयमा कसैको पनि दाबी÷बिरोध नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत एवम् अधिवक्ता ओमप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
पत्रकार महासङ्घको विधान अनुसार खोटाङमा तेह्र सदस्यीय जिल्ला कार्यसमिति बनाउनुपर्नेमा मधेशी र दलित कोटामा कसैको पनि उम्मेदवारी नपरेको जनाइएको छ । दुईवटा समावेशी कोटामा कसैको पनि उम्मेदवारी नपरेपछि उक्त कोटा खाली राखेर अरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद सदस्यमा उम्मेदवारी दिने उम्मेदवारहरुसमेत सर्वसम्मत् चयन भएका छन् । तीन सदस्यीय प्रदेश परिषद सदस्यमा केदार मगर, उत्तम चौलागाई र लोकमणि रिजाल तथा एकजना केन्द्रीय परिषद सदस्यमा दिलीप खत्री निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत एवम् नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्व अध्यक्ष दमन राईले जानकारी दिनुभयो ।
जिल्लामा क्रियाशील तीनवटै सङ्गठनमा आवद्ध पत्रकारहरुलाई समेटेर पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घ सञ्चालन गर्ने उद्देश्यले सर्वसहमतिमा सबै पदका लागि उम्मेदवारी दर्ता गराएर निर्विरोध निर्वाचित गराइएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला इन्चिार्ज डम्बरसिं राईले जानकारी दिनुभयो । “एउटा सङ्गठनले अर्को सङ्गठनलाई निषेध गरेर जाँदा राम्रो देखिँदैन । यो पटक पत्रकार महासङ्घलाई सबैको साझा संस्था बनाउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा पत्रकारहरुको तीनवटा जनवर्गीय सङ्गठन क्रियाशील छन् । प्रेस चौतारी नेपाल खोटाङलाई अध्यक्ष, सहसचिव र एक सदस्य, नेपाल प्रेस युनियन खोटाङलाई वरिष्ठ उपाध्यक्ष, सचिव, सहसचिव र तीन सदस्य तथा प्रेस सेन्टर नेपाल खोटाङलाई महिला उपाध्यक्ष र कोषाध्यक्ष दिएर मिलाएका छौँ । यसले राम्रो सन्देश दिएको छ ।”
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङमा यस वर्ष ३१ जनामात्र साधारण सदस्य रहेका छन् । पत्रकार महासङ्घलाई चलायमान तथा चुस्त, दुरुस्त बनाउन सदस्यता शुद्धिकरण गरिएको महासङ्घका जिल्ला अध्यक्ष दिलीप खत्रीले बताउनुभएको छ ।


