पत्रकार महासङ्घ खोटाङमा सबै पदका लागि सर्वसहमतिमा उम्मेदवारी दर्ता

Halesi Khabar

खोटाङ, २६ मङ्सिर । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा अध्यक्षसहित सबै पदका लागि सर्वसहमतिमा उम्मेदवारी दर्ता भएको छ । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङका नेताहरुको संयुक्त भेलाले पत्रकार महासङ्घ खोटाङको निर्वाचनमा सबै पदका लागि सर्वसहमतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्लामा क्रियाशील तीनवटै सङ्गठनमा आवद्ध पत्रकारहरुलाई समेटेर पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घ सञ्चालन गर्नेगरी सर्वसहमतिमा सबै पदका लागि उम्मेदवारी दर्ता गराइएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चिार्ज डम्बरसिं राईले जानकारी दिनुभयो । “एउटा सङ्गठनले अर्को सङ्गठनलाई निषेध गरेर जाँदा राम्रो देखिँदैन । यो पटक पत्रकार महासङ्घलाई सबैको साझा संस्था बनाउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा पत्रकारहरुको तीनवटा जनवर्गाीय सङ्गठन क्रियाशील छन् । प्रेस चौतारी नेपाल खोटाङलाई अध्यक्ष, सहसचिव र एक सदस्य, नेपाल प्रेस युनियन खोटाङलाई वरिष्ठ उपाध्यक्ष, सचिव, सहसचिव र तीन सदस्य तथा प्रेस सेन्टर नेपाल खोटाङलाई महिला उपाध्यक्ष र कोषाध्यक्ष दिएर मिलाएका छौँ ।”

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार अध्यक्षमा हरिवोल आचार्य, उपाध्यक्षमा चिसाङ शेर्पा र सविना अछामे परियार, सचिवमा राजकुमार भट्टराई, सहसचिवमा मनोज आचार्य र राजन ठटाल तथा कोषाध्यक्षमा उजुर राईको उम्मेदवारी दर्ता भएको छ । एघार सदस्यीय जिल्ला कार्यसमितिको सदस्यहरुमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेलको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कृष्ण आचार्यले जानकारी दिनुभयो ।

पत्रकार महासङ्घको विधान अनुसार तेह्र सदस्यीय जिल्ला कार्यसमितिमा मधेशी दलित कोटामा कसैको पनि उम्मेदवारी नपरेको जनाइएको छ । उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेको खण्डमा वा दाबी÷बिरोध आएको खण्डमा मङ्सिर–२७ गते बिहान ११ः०० बजेसम्म निवेदन दिनुपर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

तोकिएको समयमा कसैको पनि दाबी÷बिरोध नपरेको खण्डमा रित पुगेका उम्मेवारलाई अन्तिम नामावली प्रकाशनको समयमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने निर्वाचन अधिकृत अधिवक्ता ओमप्रकाश घिमिरेले जानकारी दिनुभयो । “उम्मेदवारी दिनेहरु सबै निर्विरोध भइसकेका छन् । आधिकारिक घोषणा गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको समयावधि सकिएपछि निर्वाचित कार्यसमितिको नामावली सार्वजनिक गर्छौँ । यो पटकको निर्वाचनमा पत्रकारहरुको एकताले जिल्लामा सकारात्मक सन्देश प्रवाह भएको छ ।”

प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद सदस्यमा समेत सर्वसहमतिमा उम्मेदवारी दर्ता गरिएको पत्रकारहरुले बताएका छन् । तीन सदस्यीय प्रदेश परिषद सदस्यमा केदार मगर, उत्तम चौलागाई र लोकमणि रिजाल तथा केन्द्रीय परिषद सदस्यमा दिलीप खत्रीको एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत एवम् नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्व अध्यक्ष दमन राईले जानकारी दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ खोटाङमा यस वर्ष ३१ जनामात्र साधारण सदस्य रहेका छन् । महासङ्घलाई चलायमान बनाउन सदस्यता शुद्धिकरण गरिएको जिल्ला अध्यक्ष दिलीप खत्रीले बताउनुभएको छ ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया