गोलिया काठ काट्नेक्रममा रुखले किचेर युवकको मृत्यु

Halesi Khabar

खोटाङ, २४ मङ्सिर । गोलिया काठ काट्नेक्रममा रुखले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रुख ढालेर गोलिया काठ काट्नेक्रममा आज (सोमबार) दिउँसो मौवाको सुकेको रुख ढलेर किच्दा दमाईको घटनास्थलमै मृत्यु भएको हो ।

साथीले काटेको रुख ढल्नेक्रममा गोलिया काठ सङ्कलन गरिरहेका मृतक दमाई नजिकै रहेको मौवाको सुकेको रुखमा ठोक्किदा उक्त सुकेको रुखले थेग्न नसक्दा ढल्नेक्रममा किचेर उनको मृत्यु भएको जानकारी प्राप्त भएको खार्पाका वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिनुभयो । “मृतक दमाई हप्ता दिनअघि यहाँ काम गर्न आएका रहेछन् । ज्यालादारी कामका लागि आएका उनको रुखले किचेर मृत्यु भएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “ज्यालादारी काम गर्दै आएका मजदुरको मृत्यु भएको खबर पाएपछि प्रहरीलाई खबर ग¥यौँ । जिल्लाबाट प्रहरी टोली आएपछि सर्जमिन मुचुल्का उठाएर उनको शव परीक्षणका लागि जिल्ला पठाउने तयारी गरिरहेका छौँ ।”

रुखले किचेर दमाईको मृत्यु भएपछि स्थानीयले दिएको जानकारीको आधारमा घटनाको बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोली खार्पा पुगेका छन् । खार्पामा भएको घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

खार्पास्थित भडाँरेमा हप्ता दिनअघिदेखि गोलिया काठ निकासीका लागि नीजि वनको रुख काट्ने काम भइरहेको स्थानीयवासीले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट स्थानीयवासीको नीजि वनका रुख काटेर ठेकेदारहरुले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया