हौँचुरका ४५ जना ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक

Halesi Khabar

खोटाङ, २३ मङ्सिर । रावाबेँसी गाउँपालिका–६ हौँचुरका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको न्यानो सिरक उपलब्ध गराइएको छ । वडा कार्यालयबाट जेष्ठ नागरिक सम्मान शीर्षकमा विनियोजित बजेटले खरिद गरिएको फाइबरको सिरक आइतबार एक कार्यक्रमका बीच वडाभित्रका ४५ जना ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको हो ।

ज्येष्ठ नागरिकको सम्मानसहित उहाँहरुलाई चिसोबाट बचाउन फाइबरको न्यानो सिरक उपलब्ध गराइएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताउनुभयो । “हिउँद लागेसँगै हाम्रो वडामा जाडो वृद्धि हुँदै गएको । लेकाली भेगमा बसोबास गर्ने जेष्ठ नागरिकहरु जाडोको समयमा बिरामी पर्ने गर्छन् । उहाँहरुलाई स्वस्थ राख्न यस वर्ष न्यानो सिरक उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो, “हाम्रो वडामा धेरै जेष्ठ नागरिक बिपन्न परिवारका छन् । वडामा रहनुभएका ज्येष्ठ नागरिकमध्ये बिपन्न समुदायका छनोट गरेर उनीहरुलाई जाडो छल्ने फाइबरको सिरक उपलब्ध गराएका हौँ ।”

चालु आर्थिक वर्ष २०८१÷०८२ मा वडाबाट ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत जाडोको समयमा न्यानो सिरक प्रदान गरेर ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । जाडोको मौषममा वडा कार्यालयले निःशुल्करुपमा न्यानो सिरक उपलब्ध गराएपछि जेष्ठ नागरिकहरु हर्षित भएका छन् ।

गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी लगायतको उपस्थितिमा ज्येष्ठ नागरिकलाई फाइबरको सिरक हस्तान्त्रण गरिएको जनाइएको छ । सात वडा रहेको उक्त गाउँपालिकाका अन्य वडाले समेत जेष्ठ नागरिकका लागि न्यानो सिरक वितरण गर्ने तयारी गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया