श्रवण शक्ति नभएका (बहिरा) व्यक्तिका लागि दोभाषे सेवा

Halesi Khabar

खोटाङ, १९ मङ्सिर । श्रवण शक्ति नभएका (बहिरा) व्यक्तिका लागि खोटाङमा दोभाषे सेवा शुरु गरिएको छ । राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशले उपलब्ध गराएको एकजना कर्मचारीमार्फत दोभाषे सेवा शुरु गरिएको हो ।

श्रवण शक्ति कम भएका व्यक्तिहरुलाई जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा लिन कठिनाइ भएकाले उनीहरुलाई दोभाषेको सहयोगमा सहजरुपले सेवा उपलब्ध गराउन दोभाषेको व्यवस्था गरिएको अपाङ्ग सेवा सङ्घ खोटाङका अध्यक्ष उमेशचन्द्र आचार्यले जानकारी दिनुभयो । “दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म कुनै पनि सेवाप्रदायक निकायमा दोभाषेको व्यवस्था थिएन । यसले गर्दा श्रवण शक्ति कम भएका सेवाग्राहीहरु मारेरमा परिरहेका छन्”, उहाँले भन्नुभयो, “श्रवण शक्ति कम भएकाहरुका लागि राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशले एकजना दोभाषे कर्मचारी उपलब्ध गराएको छ । यसले सेवाग्राहीलाई सहज हुने अपेक्षा गरेका छौँ ।”

दोभाषे सेवाका लागि तत्काललाई अपाङ्ग सेवा सङ्घ खोटाङ र करुणा फाउण्डेसनमाफर्त सम्पर्क गरेर सेवा लिने÷दिन व्यवस्था मिलाइको जनाइएको छ । जिल्लामा दोभाषे सेवा शुरु भएको विषयमा प्रचारप्रसार गर्दै स्थानीय तहहरुसँग सहकार्य गरेर सहजरुपमा सेवा उपलब्ध गराउने काम तीव्र गतिमा अगाडि बढाइएको दोभाषे सम्बन्धी काम गर्न खोटाङ आउनुभएकी पूजा दाहाल बताउनुभएको छ ।

राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशले उपलब्ध गराएको दोभाषे कर्मचारीले जिल्लास्थित दशवटै स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने जनाइएको छ । यहि मङ्सिर–१८ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर औपचारिक रुपमा शुरुवात गरिएको दोभाषे सेवा वि.सं. २०८२ असार–३१ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङक अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा चार हजार ९२२ जना विभिन्न प्रकृतिका शारीरिक अपाङ्गता भएका व्यक्ति रहेका छन् । जसमध्ये ५३२ जना श्रवण शक्ति कम भएका (बहिरा) व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ ।

जिल्लाका दशवटै स्थानीय तहमा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ सञ्चालन भइरहेको छ । वर्ष दिनअघि कोशी प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनबीच त्रिपक्षीय सम्झौता गरेर शुरुवात गरिएको कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया