खोटाङ, १२ मङ्सिर । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्नका लागि तयारी शुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज १२ गते आएको भीषण बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गर्नका लागि तयारी शुरु गरिएको हो ।
खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल भीषण बाढीका कारण बगेर क्षति भएपछि ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गर्नेगरी ठेक्का आव्हान गरिएको सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । सडक कार्यालयले प्रकाशन गरेको सूचनामा यही मङ्सिर–१८ गतेसम्म ठेकेदार कम्पनीले दरखास्त हाल्न पाउनेगरी समय दिएर अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालनमा ल्याउने र पुनः खोलेर राख्नेगरी ठेक्का आव्हान गरिएको हो ।
फोक्सिङटारमा वि.सं. २०७९ सालमा १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयअघिदेखि वर्षेनी अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो । तर, दुई वर्ष नबित्दै बाढीले फोक्सिङटारको पुल बगाएपछि जिल्लावासीका लागि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो ।
पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा वि.सं. २०७९ सालमा खोलेर राखिएको बेलिब्रिजको सामानलाई नै पुनः राख्ने तयारी गरिएको जनाइएको छ । सो स्थानमा हिउँदमा राख्ने र वर्षा लाग्ने बित्तिकै झिक्नेगरि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालन गर्ने गरिएको थियो ।
निर्माण कम्पनी गौरी–पार्वती–वाईपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै वि.सं. २०७९ पुस–७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा मोटरेबल पक्की पुल बन्न दश वर्ष कुर्नु परेको थियो ।
सडक कार्यालयले सूचना प्रकाशन गरेपछि संविधानसभा सदस्य विशाल भट्टराईले फोक्सिङटारमा आगामी पुस दोस्रो साताभित्र अस्थायी बेलिब्रिज जडान सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी पहल भइरहेको सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका संविधानसभा सदस्य भट्टराईले वर्षाद्को समयमा समेत निकाल्नु नपर्नेगरी पुल निर्माणमा तदारुकताका साथ लागेको उल्लेख गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य एवम् तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश) सरकारका निवर्तमान उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ले फोक्सिङटारमा स्थायी पुल निर्माणका लागि आफ्नो क्षेत्रबाट सशक्तरुपमा पहल गरिरहेको बताउनुभएको छ । “फोक्सिङटारमा तत्कालका लागि अस्थायी बेलिब्रिज जडान गर्न पटकपटक सम्बन्धित निकायमा खबरदारी ग¥यौँ । बल्ल सडक पूर्वाधार कार्यालयले ठेक्का आव्हान भएको सूचना प्रकाशन गरेको छ । सम्भवतः आगामी पुसभित्र अस्थायी बेलिब्रिज जडान भएर सञ्चालनमा आउँछ”, उहाँले भन्नुभयो, “फोक्सिङटारमा पुनः अर्को स्थायी पुल नबनेसम्म समस्या समाधान हुँदैन । खोटाङ्गे जनताको भविष्यसँग जोडिएको फोक्सिङटारमा स्थायी पुल निर्माण गर्न सशक्तरुपमा पहल भइरहेको छ ।”
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले फोक्सिङटार पुलको स्थायी समाधानका लागि आफूले प्रयास जारी रहेको फेसबुकमा लेख्नुभएको छ । कोशी प्रदेश सरकारकै सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’को सचिवालयले समेत फोक्सिङटारमा स्थायी पुल बनाउन पहल गरिरहेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
फोक्सिङटारको मोटरेलब पक्की पुल बाढीले बगाएपछि पूर्वी तराईसँगको सिधा सम्पर्क बिच्छेद भएको वर्तमान अवस्थामा नेताहरुको खबरदारीले चाँडै अस्थायी बेलिब्रिज जडान भएर सञ्चालनमा आउने जिल्लावासीले विश्वास गरेका छन् । फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि जिल्लाको भौतिक पूर्वाधार विकास अबको दश वर्ष पछाडि धकेलिएको जिल्लावासीले बताउँदै आएका छन् ।
देशभर जनधनको ठूलो क्षति गर्नेगरी आएको अविरल वर्षासँगै बाढीले फोक्सिङटार पुल बगाएपछि ठेकेदार कम्पनी तथा नेताहरुको चर्को आलोचना भइरहेको छ । नेताहरुले कमिशनको लोभमा निर्माण गर्नुअघि ठेकेदारसँगको मिलेमतोमा गलत डिजाइन गराएर कमसल किसिमको निर्माण सामग्री प्रयोग गरेर मोटरेबल पक्की पुल बनाएकाले बाढीले बगाएको उनीहरुको आरोप छ ।
दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडकखण्ड कालोपत्रको काममा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण अलपत्र परेको हो ।