लोकतान्त्रिक सिँचाइ कुलोको काम अलपत्र, तत्काल सञ्चालन गर्न उपभोक्ताको माग

Halesi Khabar
889 Shares

खोटाङ, २८ कात्तिक । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयले सोही गाउँपालिकाको वडा नं. ६ छितापोखरीस्थित टुवाखोला मुहान भइ विभिन्न वडाका कृषकको खेतबारी सिँचाइका लागि ठेक्का लागेर निर्माणाधीन अवस्थामै अलपत्र परेको ‘लोकतान्त्रिक सिँचाइ कुलो आयोजना’ तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय विराटनगरको रु सात करोड ७२ लाख लगानीमा निर्माण शुरु गरिएको सिँचाइ कुलो आयोजना ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको भन्दै उक्त आयोजनाको काम तत्काल सञ्चालनमा ल्याउन माग गरेका हुन् ।

निर्माणाधीन अवस्थामै अलपत्र परेको सिँचाइ कुलो आयोजनाको काम तत्काल सञ्चालनमा ल्याउनका लागि पहल गरिदिन आज (बुधबार) जिल्ला प्रशासन कार्यालय खोटाङ र जिल्ला समन्वय समिति खोटाङमा ज्ञापनपत्र बुझाइएको स्थानीय रामप्रसाद दङ्गालले बताउनुभयो । “निक्कै ठूलो कसरतले स्वीकृत भएको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । निर्माणाधीन अवस्थामै आयोजना अलपत्र पर्दा राज्यकोषको रकमसमेत खेर जाने अवस्थामा सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “विभिन्न कारण देखाएर ठेकेदार कम्पनी उन्मुक्ति लिन खोजिरहेका छन् । बेँसी क्षेत्रमा बसोबास गर्ने कृषकको भविष्यसँग जोडिएको सिँचाइ कुलो आयोजनाको काम पुनः सञ्चालनमा नआएको खण्डमा चरणवद्ध आन्दोलन गर्छौँ ।”

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङलाई बोदार्थमा राखिएको ज्ञापनपत्रमा नेपाली काँग्रेस खोटाङका नेता केशवकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका पूर्वअध्यक्ष दङ्गाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले संयुक्त हस्ताक्षर गर्नुभएको छ । आफूहरुले राजनीतिक दलको तर्फबाट नभइ स्थानीय उपभोक्ता भएको नाताले ज्ञापनपत्र बुझाएको उनीहरुले बताएका छन् ।

स्थानीय उपभोक्ताले बुझाएको ज्ञापनपत्रको बारेमा अध्ययन गरेर सम्बन्धित निकायलाई कार्यान्वयन गर्न लगाउने तयारी गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो । “करोडौँ लगानीको आयोजना अलपत्र छ भन्ने जानकारी आएको छ । हामी स्थलगत अनुगमन पनि गर्छौँ”, उहाँले भन्नुभयो, “अनुगमनले आयोजना अलपत्र पर्नुको कारण पत्ता लाग्छ । ठेकेदारको लापरबाहीकै कारण आयोजना अलपत्र परेको रहेछ भने, कारबाहीका लागि सिफारिस गर्छौँ ।”

तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी स्काई–विवश–रामसागर जेभीले ठेक्का लिएको आयोजनाको लागि अन्तिम पटक थपिएको म्याद आगामी चैत–१६ गतेसम्म रहेकाले पुनः काममा फर्काएर अलपत्र आयोजनाको काम सम्पन्न गर्न लगाउनेगरी समन्वय भइरहेको डिभिजन प्रमुख डा. महेश यादवले बताउनुभयो । “लोकतान्त्रिक सिँचाइ कुलो आयोजनाको काम पेटी ठेकेदारमार्फत भएको रहेछ । उसले काम गर्न नसकेपछि मुख्य ठेकेदारसँग सम्पर्क गरेका छौँ”, उहाँले भन्नुभयो, “मुख्य ठेकेदार कम्पनीका प्रतिनिधिले तोकिएको काम जसरी पनि सम्झौता मितिभित्र पूरा गर्नुपर्ने हुन्छ । यदि पूरा नगरेको खण्डमा धरौटी जफत गरेर कानूनी प्रक्रिया अगाडि बढाउँछौँ ।”

तीनवटा निर्माण कम्पनीको सहकार्यमा सम्झैता गरेर निर्माण शुरु गरिएको आयोजनाको काम एउटा कम्पनीका प्रतिनिधिले कमजोरी गर्दा समयमा सम्पन्न गर्न नसकिएको रामसागर निर्माण कम्पनीका प्रोप्राइटर राम पौडेलले बताउनुभयो । “तीनवटा निर्माण कम्पनीमध्ये विवश इन्टरनेश्नल प्रा.लि.ले निर्माणको जिम्मा लिएको थियो । उसले काम गर्न नसकेपछि त्यसलाई हटाएर रोकिएको काम शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “धेरै काम सम्पन्न भइसकेका छन् । सम्झौता मिति सकिन अझै बाँकी छ । तोकिएकै समयभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्छौँ ।”

विवश इन्टरनेश्नल प्रा.लि.का प्रतिनिधिले स्थानीयबासीको अवरोधका कारण काम गर्न नसकिएको भन्दै अलपत्र अवस्थामा छाडेर हिँडेको थियो । निर्माणाधीन अवस्थामै आयोजनाको काम अलपत्र छाडेर ठेकेदार हिँडेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालयले जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङलाई निर्माणस्थलमा कुनै पनि विवाद नरहेको पत्रसमेत लेखेको छ ।

सम्झौता अनुसार तीन फिट गहिरो खाल्डो खनेर त्यसभित्र पोलेथिन पाइप बिच्छ्याएर सञ्चालन गर्नुपर्ने सिँचाइ कुलो आयोजनामा यसअघिका ठेकेदारको लापरबाहीले गुणस्तरीय काम नभएको भन्दै स्थानीयले विरोधसमेत जनाएका थिए । स्थानीयको विरोधपछि निर्माणस्थलबाट ठेकेदार हिँडेपछि यसअघि बिच्छ्याइएका पाइपहरु जथाभावी छरिनुका साथै जङ्गलमा लागेको डढेलोले जलेर नष्ट भएका छन् ।

वि.सं. २०७७ सालमा डिभिजन कार्यालय खोटाङमा सम्झौता गरेर निर्माण शुरु गरिएको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना अन्तरगत १३ किलोमिटर लामो पाइप लाइनमध्ये आठ किलोमिटर काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वडा नं. ४ बतासेस्थित साबिकको दुईवटा वडा तथा वडा नं. ५ सप्तेश्वर छितापोखरीको तल्लो भागका स्थानीयबासीको खेतबारी सिँचाइ गर्ने उद्देश्यले तत्कालीन १ नं. प्रदेशका खानेपानी, सिँचाइ, उर्जा तथा जलश्रोतमन्त्री रामकुमार राई ‘पासाङ’को पहलमा आयोजना पारिएको हो ।

तपाईको प्रतिक्रिया