हृदयघातले बेहोस बनेका प्रधानाध्यापक धमलाको उपचारकोक्रममा निधन

Halesi Khabar
427 Shares

खोटाङ, २२ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको हृदयघातका कारण निधन भएको छ । भाइटीका लगाएर काठमाडौँबाट दाजु यादव धमलासँग दिक्तेल आउँदै गरेको अवस्थामा नेपालथोक आएपछि मुटु दुखेर सिकिस्त बिरामी पर्नुभएका ३९ वर्षीय प्रधानाध्यापक धमलाको गङ्गालाल हृदयरोग केन्द्र काठमाडौँमा निधन भएको हो ।

दाजुभाइ एउटै मोटरसाइकल चढेर घर फर्कदै गरेको अवस्थामा मुटु दुखेर एक्कासी बेहोस बन्नुभएका प्रधानाध्यापक धमलालाई एम्बुलेन्समार्फत बनेपाको धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालमा उपचार सम्भव नभएपछि शहीद गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँ रेफर गरिएको र गङ्गालाल पु¥याउना साथ त्यहाँका चिकित्सकले प्रधानाध्यापक धमलालाई मृत घोषणा गरेको आफन्तले जनाएका छन् ।

दिदीको हातको हातबाट फूलटीका लगाउन काठमाडौँ गएर फर्कनेक्रममा हिजो (बुधबार) साँझ हृदयघातका कारण ज्यान गुमाउनुभएका प्रधानाध्यापक धमलाको पार्थिव शरीर बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित घरमा ल्याएर गुप्तेश्वर आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रधानाध्यापक धमलाको श्रीमती र दुई छोरी छन् । मृतक प्रधानाध्यापक धमला खोटाङका प्रथम शहीद ठूलकुमार श्रेष्ठका ज्वाइँ हुनुहुन्छ ।

प्रधानाध्यापक धमलाको निधनको शोकमा भोलि (शुक्रबार) नगरपालिकाको कार्यालयमा आधा घण्टा राष्ट्रिय झन्डा झुकाउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । प्रधानाध्यापक धमलाको निधनमा नगरक्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयहरूमा समेत शोक धुनसहित एक मिनेट मौनधारण गर्ने÷गराउने निर्णय गरिएको नगर प्रवक्ता एवम् वडा नं. ५ लफ्याङका वडाध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया