खोटाङ, १८ भदौ । साकेला गाउँपालिका–३ खिदिमाका स्थानीय बासिन्दाले श्रमदानमार्फत काठेपुल निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । खिदिमास्थित मखमले र तावाभञ्ज्याङका ४२ जना स्थानीय बासिन्दाले लगातार चार दिन श्रमदान गरेर बोराखोलामा करिब १२ मिटर लम्बाईको काठेपुल निर्माण गरेर सञ्चालनमा ल्याएका हुन् ।
तत्कालीन खिदिमा गाउँपविकास समिति (गाविस)को साबिक वडा नं. ९ स्थित बोरा टोलबाट मखमले जोड्ने बोराखोलामा करिब रु दुई लाख ४४ हजार ८८० बराबरको श्रमदानमार्फत काठेपुल निर्माण गरेर आज (मङ्गलबार)बाट सञ्चालनमा ल्याइएको बोरा टोलका टोल विकास समिति अध्यक्ष एवम् टोलस्तरीय पूर्ण सरसफाइ संयोजक नैनबहादुर खत्रीले जानकारी दिनुभयो । काठेपुल निर्माणका लागि ९० क्युफिट काठ, १५ पिल ढुङ्गा र पाँच किलो काँटी प्रयोग गरिएको जनाइएको छ ।
वर्षाद्को समयमा खोलामा आउने बाढीले कलिला उमेरका विद्यार्थी तथा स्थानीय बासिन्दालाई आवतजावतमा हुँदै आएको समस्या समाधान गर्न बोराखोलामा श्रमदानमार्फत काठेपुल निर्माण गरिएको खिदिमाका वडाध्यक्ष गोविन्द तामाङले बताउनुभयो । “बोरा टोलमा ३५ घर स्थानीय बासिन्दाको बसोवास छ । त्यहाँका बालबालिका अध्ययनका लागि मखमलेस्थित जनता आधारभूत विद्यालय जानुपर्ने हुन्छ । बीचमा पर्ने बोराखोलामा आउने बाढी तर्न नसक्दा वर्षाद्को समयमा त्यहाँका बालकालिका विद्यालय जान सक्दैनन्”, उहाँले भन्नुभयो, “बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई लक्षित गर्दै श्रमदानमार्फत बोराखोलामा काठेपुल निर्माण गरेर सञ्चालनमा ल्याएका छौँ । श्रमदानमार्फत निर्माण गरिएको काठेपुल सञ्चालनमा आएपछि त्यहाँका विद्यार्थीसँगै स्थानीय बासिन्दालाई बाह्रै महिना आवजावत गर्न सहज भएको छ ।”
चार दिनसम्म सञ्चालन गरिएको श्रमदानमार्फत काठेपुल निर्माण सम्पन्न गरेर सञ्चालनमा आएपछि बोरा टोलका स्थानीय बासिन्दालाई गाउँपालिकाको कार्यालय तथा वडा कार्यालय आवतजावतमा समेत सहज भएको श्रमदानमा सहभागी सञ्जिव राईले बताउनुभयो । बोरा टोलका टोल विकास समिति अध्यक्ष एवम् टोलस्तरीय पूर्ण सरसफाइ संयोजक खत्रीको नेतृत्वमा सञ्चालन गरिएको श्रमदानमा वडाध्यक्ष तामाङसँगै पूर्ण सरसफाइ अभियान कार्यक्रमका उत्प्रेरक नवीन श्रेष्ठको समेत सहभागिता थियो ।
गाउँ तथा टोलमा गर्नुपर्ने सानातिना विकास निर्माणका काम स्थानीय बासिन्दा आफै सहभागी भएर गर्ने उद्देश्यसहित खिदिमामा हरेक महिनाको एक दिन अनिवार्य श्रमदान अभियान चलाइएको वडाध्यक्ष तामाङले बताउनुभएको छ । “खिदिमामा सञ्चालित विकासे योजनामा भलबाढीले पु¥याउने क्षतिको मर्मतका लागि श्रमदान अभियानलाई सञ्चालन गर्न वडा कार्यपालिकाबाटै निर्णय गरिएको छ । गाउँ तथा टोलमा गर्नुपर्ने सानातिना विकास निर्माणका काम स्थानीय बासिन्दा आफै सहभागी भएर गर्ने उद्देश्यसहित श्रमदान अभियान सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “सबै कामका लागि राज्यले बजेट उपलब्ध गराउने स्थिति छैन । वडाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीय बासिन्दा स्वतःस्फूर्त सहभागी हुने गरेका छन् । श्रमदान अभियानले स्थानीय बासिन्दामा ‘आफ्नो गाउँ, आफैले बनाउनुपर्छ’ भन्ने भावनाको विकास भएको छ ।”
खिदिमामा सञ्चालन गरिएको श्रमदान अभियानमा सहभागी हुने स्थानीय बासिन्दालाई खुवाइने खाजासमेत स्थानीयस्तरमा उत्पादन हुने खाद्य वस्तुमात्र प्रयोग गर्ने गरिएको छ । आयातित सामग्रीलाई प्रतिबन्ध लगाउँदै स्थानीय उत्पादनलाई प्राथिमकता दिन वडाबाट सञ्चालन गरिने हरेक कार्यक्रममा स्थानीय खाद्य वस्तुमात्र प्रयोग गर्ने गरिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभएको छ ।
सडक मर्मत, विद्यालय तथा सार्वजनिकस्थल सरसफाइ गर्दै आएका खिदिमाका स्थानीय बासिन्दाले यसअघि तावाभञ्ज्याङमा निर्माण गरिएको वाबु (चिण्डो) पोखरी श्रमदानमार्फत सरसफाइ गरेको थियो । वर्षाद्को भलबाढीका कारण पोखरी पुरिएपछि वडा कार्यालय खिदिमाको पहलमा स्थानीय बासिन्दा भेला गराएर पोखरीमा भरिएको ढुङ्गा, गिट्टी तथा बालुवा निकालिएको हो ।
साकेला गाउँपालिकाको लगानीमा तीन वर्षअघि निर्माण गरिएको उक्त वाबु पोखरी वर्षाद्को भलबाढीका कारण पुरिएको थियो । किराती मिथक र मुन्दुममा आधारित रहेर निर्माण गरिएको उक्त वाबु पोखरी पुरिएर अस्थित्व नै हराउन लागेपछि श्रमदानमार्फत सफा गरिएको वडाध्यक्ष तामाङले बताउनुभएको छ ।