मनसुनजन्य विपद् व्यवस्थापन गर्न पूर्व तयारीस्वरुप अभ्यास (डेमोष्ट्रेशन) प्रदर्शन

Halesi Khabar
28 Shares

खोटाङ, २७ जेठ । मनसुनजन्य प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्दार तथा राहत उपलब्ध गराउने उद्देश्यले आइतबार खोटाङको दिक्तेलमा उद्दारसम्बन्धी अभ्यास (डेमोष्ट्रेशन) प्रदर्शन गरिएको छ । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङको नेतृत्वमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित दिक्तेल–आहाले सडकखण्डमा अभ्यास प्रदर्शन गरिएको हो ।

प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्दार गर्ने लक्ष्यका साथ पूर्व तयारीस्वरुप अभ्यास प्रदर्शन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । “नेपालमा मनसुन शुरु भएको छ । मनसुनको समयमा बाढी, पहिरो लगायत विभिन्न प्रकारका प्राकृतिक विपत्तिहरु आइपर्न सक्छन्”, उहाँले भन्नुभयो, “प्राकृतिक विपत्तिमा परेकालाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्ने उद्देश्यले पूर्व तयारीस्वरुप अभ्यास प्रदर्शन गरिएको छ । मनसुन शुरु हुनुभन्दा अगाडि पूर्व तयारीस्वरुप गरिएको अभ्यास प्रदर्शन प्रभावकारी भएको छ ।”

संयुक्त उद्दार टोलीले पहिरो, खोँच तथा खोलामा फसेका सर्वसाधारणको उद्दार, प्राथमिक उपचार तथा स्वस्थ्य संस्थासम्म पु¥याउन अपनाइने विधिका बारेमा अभ्यास प्रदर्शन गरेका छन् । नेपाली सेना, जनपद प्रहरी तथा सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी खोटाङको संयुक्त उद्दार टोलीले अभ्यास प्रदर्शन गरेका हुन् ।

संयुक्त उद्दार समितिले प्रदर्शन गरेको अभ्यासले सर्वसाधारणलाई समेत सचेत रहन तथा उद्दारमा संलग्न हुनुपर्ने ज्ञान प्राप्त भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताउनुभएको छ । “मनसुनजन्य प्राकृतिक विपद् व्यवस्थापनका लागि संयुक्त उद्दार समितिले गरेको अभ्यास प्रदर्शनले राज्यको उपस्थिति छ भन्ने आभास झल्काएको छ”, उहाँले भन्नुभयो, “प्राकृतिक विपत्तिमा परेकालाई तत्काल उद्दार तथा राहत उपलब्ध गराउन राज्यको दायित्व हो । हामीले नगरपालिकामा पनि उद्दार तथा राहत वितरण टोली गठन गरेर तयारी अवस्थामा राखेका छौँ । नगरपालिकाको टोलीले जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर काम गर्छ ।”

संयुक्त उद्दार टोलीले प्रदर्शन गरेको अभ्यास अवलोकन गर्न जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायत १५० जनाभन्दा बढी खाल्ले पुगेका थिए । अवलोकनमा पुगेका टोलीले संयुक्त उद्दार टोलीले गरेको अभ्यास प्रदर्शन प्रभावकारी भएको बताएका छन् ।

जिल्लामा हुनसक्ने विपद् व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यमा जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लास्थित सबै स्थानीय तह, सुरक्षा निकायका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय, राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित कार्यालयहरु, नेपाल पत्रकार महासङ्घ, गैंरसरकारी संस्था र उद्योग वाणिज्य सङ्घ रहने छन् ।

जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको सदस्य सचिव समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृत रहने व्यवस्था रहेको छ । जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जिल्लास्थित स्थानीय तहहरुसँग समन्वय गरेर विपद्मा परेका सर्वसाधारणलाई उद्दार तथा राहत व्यवस्थापनाको काम गर्ने निर्णयसमेत गरिएको संयोजक कार्कीले जानकारी दिनुभएको छ ।

जिल्लाका दशवटै स्थानीय तहमा स्थानीयस्तरको विपद् व्यवस्थापन समिति गठन गरेर तयारी अवस्थामा रहन जिल्लास्थित सबै स्थानीय तहलाई अनुरोध गरिएको संयोजक कार्कीले जानकारी दिनुभएको छ । दश स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’को बैठकले कोशी प्रदेश मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको जनाएको छ । सरकारले आउँदो मनसुनका कारण हुने विपद्मा उद्धार तथा राहत वितरणका लागि करिब ३० हजार सुरक्षाकर्मी खटाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया