दिक्तेलमा कातिक पहिलो साता राष्ट्रिय बाँस सम्मेलन : पूर्वमन्त्री साहको संयोजकत्वमा तयारी समिति

Halesi Khabar
28 Shares

खोटाङ, २६ जेठ । आगामी कातिक पहिलो साता खोटाङको दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गरिने भएको छ । बिना उपयोग खेर गइरहेका बाँसलाई जीवन उपयोगी बनाउँदै पर्यावरण संरक्षण गर्नुका साथै बाँस उद्योगहरु सञ्चालनमा ल्याएर स्थानीय बासिन्दाका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले आगामी कातिक–२, ३ र ४ गते दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्ने तयारी गरिएको हो ।

नेपालमा खेर गइरहेका बाँसलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले नेपालकै इतिहासमा पहिलो पटक दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्ने निर्णय गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थानीय आयोजक रहने राष्ट्रिय सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहनेछ । यसका लागि वन, वातावरण तथा प्रविधि पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ”, उहाँले भन्नुभयो, “नेपालको इतिहासमा पहिलो पटक दिक्तेलमा आयोजना गर्न लागिएको बाँस सम्मेलनका लागि तयारी समितिका संयोजक पूर्वमन्त्री साहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ÷संस्थासँग समन्वय गर्नुहुन्छ । तीन दिनसम्म सञ्चालन हुने बाँस सम्मेलनमा हुने अनुमानित खर्च, कार्यपत्र प्रस्तुत, बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्रीको स्टल, व्यवस्थापन लगायतका विषयमा आयोजक समितिको अर्को बैठकले निर्णय गर्छ ।”

काठमाडौँको मध्यबानेश्वरमा शनिबार भएको सरोकारवाला व्यक्तिहरुको भेलामा नेपालको वर्तमान अवस्थामा बाँसको महत्व, उपयोगिता र प्रवद्र्धनमा नेपाल सरकारले खेल्नुपर्ने भूमिकाको विषयमा विज्ञहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । बाँसको क्षेत्रमा काम गर्दै आउनुभएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष के.पि. भट्टराईको पहलमा भएको सरोकारवाला व्यक्तिहरुको भेलाले दिक्तेल बजारमा पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन गर्ने निर्णय गरेको हो ।

पूर्वमन्त्री कल्याणी साहको समेत सहभागिता रहेको भेलामा काठमाडौँ विश्वविद्यालयका बाँस विज्ञ डा. विष्णुमायाँ के.सी., काठमाडौँ वन विज्ञान क्याम्पसका उपप्राध्यापक डा. हिमलाल श्रेष्ठ, बाँस अनुसन्धान विज्ञ सन्तोष दाहाल, बाँस व्यवसायी प्रणव श्रेष्ठ, उद्यमी सुनिता म्हेम्हाफुकी, समाजसेवी डा. चिरञ्जिवी भट्टराई, नवकिरण उर्जाका राष्ट्रिय अध्यक्ष गुणराज ढकाल लगायतको उपस्थिति रहेको थियो । भेलामा बाँसको विकास, व्यवसायिकता तथा बाँस उद्योगहरुमा रोजगारी सिर्जना गरेर नागरिकलाई कसरी जोड्न सकिन्छ भन्नेबारेमा छलफल भएको नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघिबाटै बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सागम्रीको प्रवद्र्धन गर्दै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने नगरपालिकाले बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सागम्री तथा उद्योगलाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम ल्याएपछि नगरपालिकामा बाँसका सामग्री उत्पादन गर्ने उद्योगहरुसमेत वृद्धि हुँदै गएको पाइएको छ ।

बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवम् उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका स्थानीय बासिन्दा एवम् उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ ।

नगर प्रमुख भट्टराई र उपप्रमुख विशन राईले आफ्नो कार्यकक्षमा बाँसकै फर्निचर प्रयोग गर्नुभएको छ । नगर प्रमुख भट्टराई र उपप्रमुख राईले यसअघिका नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले प्रयोग गर्नुभएको आयातित फर्निचर हटाएर स्थानीय कासिन्दा एवम् उद्यमीले स्थानीयस्तरमै उत्पादन गरेका बाँसका फर्निचर खरिद गरेर प्रयोग गर्नुभएको हो ।

नेपालका प्राय सबै क्षेत्रमा ठाउँ विशेषअनुसार विभिन्न प्रजातिका बाँस पाइन्छन् । पूर्वी पहाडी जिल्ला खोटाङमा पशुपानका लागि घाँस, घरेलु सामग्री निर्माण तथा साँस्कृतिक काममा समेत बाँस उपयोग गरिँदै आइएको छ ।

 

तपाईको प्रतिक्रिया