हावाहुरीले मकै बालीमा क्षति, क्षतिको विवरण आउन बाँकी

Halesi Khabar
238 Shares

खोटाङ, २२ जेठ । वर्षासँगै आएको हावाहुरीले खोटाङका किसानले लगाएका मकै बालीमा ठूलो क्षति गरेको छ । मङ्गलबार दिउँसो वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएका मकै बालीमा क्षति पु¥याएको हो ।

पसाउन (धानचामर निस्कने प्रक्रिया) लागेको मकैको बोट हावाहुरीले ढाल्दा लाखौँको क्षति भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हर्कराज राईले जानकारी दिनुभएको छ । “हाम्रो क्षेत्रको प्रमुख बाली नै मकै हो । दोहो¥याउने समय भएको मकैको बोट मङ्गलबार दिउँसो आएको हावाहुरीले सोत्तर पारेको छ”, उहाँले भन्नुभयो, “धानचामर निस्कन लागेको मकैको बोट हावाहुरीले ढालेर कामै नलाग्ने अवस्थाको बनाएको छ । लेकाली क्षेत्रको प्रमुख बाली मकैको बोटलाई हावाहुरीले सोत्तर हुनेगरी क्षति गरेपछि कृषकहरु चिन्तित बनेका छन् ।”

मङ्गलबार दिउँसो चलेको हावाहुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएका मकै बालीमा क्षति पु¥याएको र क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । दश स्थानीय तह रहेको जिल्लामा ३९ हजार ८४५ हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गर्ने गरिएको छ ।

यसैबीच, मङ्गलबार नै दिउँसो आएको हावाहुरीले साकेला गाउँपालिका–२ रतन्छास्थित टाँकीबारी आधारभूत विद्यालयमा क्षति गरेको प्रहरीले जनाएको छ । ढुङ्गामाटोले बनेको तीन कोठा भएको एकतले विद्यालय भवनको जस्तापाताले छाएको छाना उडाउँदा करिब रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ ।

टिफिन टाइम (खाजा खाने समय)मा घटना भएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रधानाध्यापक केशव बस्नेतले बताउनुभयो । हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठनसमेत प्रभावित भएको विद्यालय प्रशासनले जनाएको छ ।

कक्षा–५ सम्म अध्ययन÷अध्यापन हुँदै आएको उक्त विद्यालयमा हावाहुरीले क्षति गरेपछि पुनः कक्षा सञ्चालनका लागि भोलि (बुधबार) विद्यालय व्यवस्थापन समितिको बैठक बोलाइएको जनाइएको छ । सोही वडाको पिपलडाँडा आधारभूत विद्यालयमा समेत मङ्गलबारको हावाहुरीले क्षति गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया