दुबईमा ज्यान गुमाएका दीपकको परिवारलाई रु सात लाख ५० हजार आर्थिक सहयोग

Halesi Khabar
623 Shares

खोटाङ, २१ जेठ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । वि.सं. २०८० चैत–७ गते दुबईमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका दीपकको परिवारलाई सोमबार रु सात लाख ५० हजार आर्थिक सहयोग रकम उपलब्ध गराइएको हो ।

मृतकका दुई छोराहरु जेठा नौँ वर्षीय दिशन र कान्छा छ महिनाका इशान बुढाथोकीको पठन÷पाठनका लागि उनीहरुको नाममा छुट्टाछुट्टै बैङ्क खाता खोलेर जम्मा गर्नेगरी रु तीन÷तीन लाख तथा घर खर्चका लागि मृतकका बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वति बुढाथोकीलाई नगद रु ५०÷५० हजार उपलब्ध गराइएको जनाइएको छ । धितुङका स्थानीय बासिन्दा एवम् नेपाल सरकारका नायब सुब्बा पदमा कार्यरत गणेशबहादुर कार्कीको संयोजनमा देश÷विदेशमा रहेका नेपालीहरुबाट सङ्कलित रकम सोमबार प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्व उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ले मृतकका परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

नाबालक छोराहरु डिसन र मिसनको नाममा राष्ट्रिय बाणिज्य बैङ्क दिक्तेलमा मुद्दति खाता खोलेर जम्मा गरिने रकमको ब्याजमात्र निकालेर खर्च गर्ने व्यवस्था मिलाइएको अभियान्ता कार्कीले जानकारी दिनुभएको छ । “रोजगारीको खोजीमा दुवाई पुगेका दीपक बुढाथोकीको दुर्घटनामा परी विदेशै ज्यान गयो । उनको मृत्यु भएपछि बुबा÷आमा तथा दुई छोरा र श्रीमतीको बिचल्ली भएको छ”, उहाँले भन्नुभयो, “नाबालक ती छोराहरुको पठन÷पाठन तथा लालनपालनका लागि सहयोग रकम सङ्कलन गरेर उपलब्ध गराएका छौँ । उनीहरुको उमेर १८ वर्ष पूरा नभएसम्म व््ब्याजमात्र झिकेर खर्च गर्ने व्यवस्था मिलाइएको छ । १८ वर्ष उमेत पुगेपछि पुरै रकम झिकेर आवश्यक खर्च गर्नेछन् ।”

आर्थिक सहयोग रकम सङ्कलन अभियानमा देश तथा विदेशमा ७६ जना नेपालीले सहयोग गरेको अभियान्ता कार्कीले जानकारी दिनुभएको छ । दुर्घटनामा परेर मृत्युहुनुभन्दा सात महिनाअघिमात्र दुवाई पुगेका मृतक दीपकको परिवारले दुबईस्थित कम्पनीबाट पाउने बीमाबापतको रकम तथा क्षतिपूर्ति अहिलेसम्म पाएका छैनन् ।

कमजोर आर्थिक अवस्थाका परिवारमा जन्मिएका मृतक दीपक वि.सं. २०८० असोज–२ गते दुवाईस्थित ग्राण्ड स्काफोल्डिङ कम्पनी पुगेका थिए । उनी काठमाडौँस्थित हिमालयन ईन्टरनेश्नल रिक्र्युमेन्ट सर्भिसेस प्रा.लि.मार्फत स्काफोल्डिङको कामका लागि कामदार भिसामा दुबई पुगेका हुन् ।

मृतक दीपकका जेठा छोरा डिसन दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलको कक्ष–४ मा अध्ययनरत छन् । विदेश जानुअघि गर्भमा रहेका मिसन अहिले चार महिनाको भएको आफन्तले बताएका छन् ।

मृतक दीपक जीतबहादुर बुढाथोकीको कान्छा छोरा हुन् । परिवारको कान्छो सन्तानको वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएको बेला विदेशमै मृत्यु भएपछि वृद्धावस्थाका बुबा÷आमा भावविह्वल भएका छन् ।

कान्छा छोराले विदेश कमाएर पठाएको पैसाले घर खर्च धान्दै आएका जीतबहादुरको परिवारमा दीपकको विदेशमै मृत्यु भएपछि बिचल्ली भएको छ । मृतक दीपकको शव मृत्यु भएको महिना दिनपछि दुबईबाट नेपाल ल्याएर दाहसँस्कार गरिएको मृतकका आफन्तहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया