खोटाङ, १८ जेठ । खोटाङमा विभिन्न कार्यक्रम गर्दै सामुदायिक वन उपभोक्ता महासङ्घको २९ औँ स्थापना दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यमिक विद्यालय बाँसबोटे लफ्याङ परिषरमा शुक्रबार वृक्षारोपण तथा ‘हरित शिक्षाको महत्व’ विषयक निबन्ध प्रतियोगिता आयोजना गर्दै महासङ्घको २९ औँ स्थापना दिवस मनाइएको हो ।
सामुदायिक वन उपभोक्ता महासङ्घको २९ औँ स्थापना दिवसको अवसरमा विद्यालय परिषरमा धुपी र कल्कीको बिरुवासमेत रोपिएको छ । विद्यालय परिषरमा वृक्षारोपणका लागि डिभिजन वन कार्यालय खोटाङले बिरुवा उपलब्ध गराएको थियो ।
निबन्ध लेखन प्रतियोगितामा कक्षा–१० की प्रमिला ढुंगानाले प्रथम स्थान प्राप्त गरेको विद्यालय प्रशासनले जनाएको छ । कक्षा–१० कै कविता श्रेष्ठ र पूर्णिमा खत्री दोश्रो तथा कक्षा–९ मा अध्ययनरत दीपा पौडेल र सन्देश घिमिरे तेश्रो भएका छन् ।
निबन्ध लेखन प्रतियोगिताका विजेतालाई डिभिजन वन कार्यालय खोटाङकै प्रायोजनमा पुरस्कार प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ । निबन्ध लेखन प्रतियोगितामा २३ जना विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान राईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङका सहायक वन अधिकृत विनोद खतिवडा, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राई, महासङ्घका जिल्ला अध्यक्ष मोहन गुरुङ, पत्रकार दमन राई, बिरासतखबर डटकमका सञ्चालक पत्रकार सन्तोष पौडेल लगायतको उपस्थिति रहेको थियो । सामुदायिक वन उपभोक्ता महासङ्घको समावेशिता र सुशासन अभ्यास मुलुकमै अनुकरणीय रहेको केन्द्रीय सदस्य राईले बताउनुभयो ।


