वाप्लुखाको सुम्लिखामा यलम्बर पार्क (उद्यान) स्थापना

Halesi Khabar
1.3k Shares

खोटाङ, १७ जेठ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा किराती प्रथम राजा यलम्बरको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजना अन्तरगत सात वर्ष लगाएर सुम्लिखामा रु ७० लाख लगानीमा यलम्बर पार्क स्थापना गरिएको हो ।

वाप्लुखाका स्थानीय जफतजङ खिम्दुङ राईले निःशुल्क उपलब्ध गराउनुभएको दुई रोपनी जग्गामा स्थापना गरिएको पार्कमा फाइवरबाट निर्माण गरिएको यलम्बरको पूर्ण कदको शालिक राखिएको छ । फलामे घेराबारले घेरिएको पार्कभित्र नौँ फिट अग्लो यलम्बरको पूर्ण कदको शालिक, खानेपानीको धारा, प्रतिक्षालय, फलैंचा, सामुदायिक भवन लगायतका संरचना निर्माण गरिएको छ ।

सुम्लिखामा यलम्बर पार्क स्थापना गर्नाले किरात समुदायको साँस्कृति विषयहरु संरक्षण हुनुका साथै आन्तरिक पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय शिक्षक नयन्द्र खिम्दुङ राईले बताउनुभयो । “सुम्लिखामा बान्तावा राई जातिको सेउली लगाउने घर छ । हामीहरु साकेला नाचिसकेपछि त्यो घरमा सेउली मार्छौँ अर्थात् थन्क्याउँछौँ”, उहाँले भन्नुभयो, “यही ऐतिहासिकस्थलको विकास गर्न वडा तथा गाउँपालिकाको लगानीमा यलम्बर पार्क स्थापना गरिएको हो । यसले गाउँपालिकाको आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

किरात राई बान्तावा समुदायको ऐतिहासिकस्थल सुम्लिखामा स्थापना गरिएको यलम्बर पार्क बिहीबार गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले औपचारिकरुपमा उद्घाटन गर्नुभएको छ । बान्तावा राई समुदायले पुज्दै आएको ‘सावा सकेला थान’ नजिकै निर्माण गरिएको यलम्बर पार्क उद्घाटन कार्यक्रमको अवसर पारेर साकेला सिलीसमेत प्रद्धर्शनी गरिएको स्थानीय ईन्द्रहाङ किरातीले जानकारी दिनुभयो ।

वाप्लुखाका वडाध्यक्ष पारस राईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख मुक्ति, वडा नं ९ लिच्किराम्चेका वडाध्यक्ष ईन्द्रबहादुर राई, किराती पुर्खाहरु, युवायुवती लगायतको उपस्थिति रहेको थियो । सुम्लिखामा हरेक वर्षको उँभौली र उँधौलीमा साकेला सिलीको सेउली मार्ने चलन रहेको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय धार्मिक, ऐतिहासिक एवम् पुरातात्विकस्थलहरु संरक्षण तथा प्रवद्र्धनका कामहरु तीव्रगतिमा भइरहेका छन् । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रका धार्मिक तथा ऐतिहासिकस्थलहरुको संरक्षण एवम् प्रवद्र्धन गर्नाले आन्तरिक पर्यटकहरुका लागि ती स्थलहरु घुम्न जाने ठाउँको रुपमा विकास भएका छन् ।

तपाईको प्रतिक्रिया