खुनडाँका मुद्दाका तीन अभियुक्त सर्वोच्चको फैसलापछि पुनः पक्राउ

Halesi Khabar
112 Shares

खोटाङ, १४ जेठ । खुनडाँका मुद्दामा दोषी ठहर भएका केपिलासगढी गाउँपालिका–७ सुङ्देल खोटाङका तीन अभियुक्त सर्वोच्च अदालतको फैसला आएको दुई वर्षपछि पुनः पक्राउ परेका छन् । वि.सं. २०६८ चैत–४ गते सुङ्देलका स्थानीय दानबहादुर राईको घरमा नकाब लगाएर गइ नगद, बहुमुल्य गरगहना तथा पुरातात्विक वस्तुहरु लुटपाट गर्नुका साथै सोही राति सोही गाउँपालिकाको वडा नं.–३ बाक्सिलाका मनराज सुनुवारको हत्या गर्नमा संलग्न स्थानीय ५७ वर्षीय भीमबहादुर राई, ५८ वर्षीय चमारसिं राई र ४३ वर्षीय ताराबहादुर राईलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

अभियुक्तहरुले दानबहादुरले आफू सुतेको ओच्छ्यानको सिरानीमुनि राखेको नगद रु ८५ हजार, दुईवटा शङ्ख, एक थान गौलचन, दुई थान शिव लिङ्ग, एक थान शालीग्राम, एक जोर सुनको रिङ, एक थान सौभाग्यसहित दुई तोला सुन लगायतका धनमाल लुटेर लगेका थिए । पुनः पक्राउ परेका अभियुक्तहरुले दानबहादुरको श्रीमती जानकी र भदैनी (श्रीमती जानकीको दाजुको छोरी) सँगीता राईको गरगहना लुटपाट गरेर भाग्नेक्रममा दानबहादुरकै घरमा डेरागरी बस्दै आएका मनराजले थाहा पाएर छरछिमेकीलाई जानकारी दिन हल्लाखल्ला गरेपछि मनराजलाई समेत धारिलो हतियार प्रहारगरी हत्या गरेर करिब ५० मिटर पर लगेर फालेका थिए ।

पुनः पक्राउ परेका अभियुक्त तीनैजनालाई वि.सं. २०६८ चैत–१२ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएकोमा जिल्ला अदालत खोटाङले वि.सं. २०७१ असार–१ गतेको आदेशमा सर्वस्वसहित जन्मकैदको फैसलासहित कारागार चलान भएका थिए । जिल्ला अदालतको फैसला कार्यान्वयनविरुद्ध उच्च अदालत राजविराजले निज अभियुक्तहरुलाई वि.सं. २०७३ भदौ–२० गते डाँका गरेको कसुरमा मात्र प्रतिव्यक्ति छ÷छ वर्ष कैद तथा जनही रु एक लाख ३० हजार ५०० नगद जरिवानामा छुटेका थिए ।

उच्च अदालतको फैसलाविरुद्ध पीडितले पुनः सर्वोच्च अदालतमा दिएको जाहेरीको आधारमा सर्वोच्च अदालतले पुनः वि.सं. २०७९ माघ–१५ गते जिल्लाकै फैसलालाई सदर गर्दै तीनैजनालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्चको फैसलापछि फरार भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय खोटाङ तथा ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएर गएका टोलीले जेठ–१३ गते आईतबार लुकीछिपी बसेको अवस्थामा उनीहरुकै गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेका अभियुक्तमध्ये भीमबहादुर र चमारसिंले १४÷१४ वर्ष तथा ताराबहादुरले १३ वर्ष ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला अदालत खोटाङले जनाएको छ । पक्राउ परेका तीनैजना फरार अभियुक्तलाई प्रहरीले सोमबार जिल्ला अदालतमा उपस्थित गराएर सार्वजनिक गर्दै कारागार चलान गरेको छ ।

फरार अभियुक्त पक्राउ अभियान शुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले गत साउनदेखि हालसम्म १२२ जनालाई पक्राउ गरिसकेको छ । फरार अभियुक्त अपक्राउ अभियानका क्रममा ३० वर्षदेखि फरार रहेका अभियुक्तलाईसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया