राष्ट्रिय कराँते प्रतियोगिता–२०८१ को उपाधि आयोजक खेलकुद प्रतिष्ठानलाई

Halesi Khabar
119 Shares

खोटाङ, १० जेठ । दिक्तेलमा सम्पन्न राष्ट्रिय कराँते प्रतियोगिता–२०८१ को उपाधि आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङले चुमेको छ । ‘प्रथम बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत बिहीबार सम्पन्न राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित रु एक लाख ११ हजार १११ राशीको उपाधि चुमेको हो ।

सातवटै प्रदेशका कराँते खेलाडी सहभागी प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र सात कास्य पदकसहित बागमती प्रदेश द्धितीय, दुई स्वर्ण, एक रजत र चार कास्य पदकसहित गण्डकी प्रदेश तृतीय तथा एक स्वर्ण, सात रजत र चार कास्य पदकसहित कोशी प्रदेश चौथो भएका छन् । प्रतियोगिताका टोली प्रथम, द्धितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार १११, रु ५५ हजार ५५५, रु ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता अवधिको सर्वोत्कृष्ट खेलाडीमा महिलातर्फ सुदुरपश्चिम प्रदेशकी गरिमा मल्ल तथा पुरुषतर्फ आयोजक टोलीका रुरीहाङ दुमी राई घोषित हुनुभएको छ । सर्वोत्कृष्ट खेलाडी गरिमा र रुरीहाङले जनही नगद रु २२ हजार २२२ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट व्यवस्थापनमा मधेश प्रदेश घोषित भएको छ । उत्कृष्ट व्यवस्थापन गर्ने मधेश प्रदेशलाई रु एघार हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको महोत्सवको व्यवस्थापकीय भूमिकामा रहेको सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजुले बताउनुभयो ।

प्रतियोगिताका विजयी खेलाडी तथा टिमलाई प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत ‘पर्शुराम’ले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगिता तथा महोत्सव समापन कार्यक्रममा वक्ताहरुले एघार दिनसम्म सञ्चालन भएको महोत्सवले खेल क्षेत्रको विकाससँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुगेको बताएका छन् ।

गत वैशाख–३१ गतेबाट शुरु भएको महोत्सव अन्तरगत गत वैशाख–३१ गते एथ्लेटिक्स विद्याका प्रतियोगिता, जेठ–४ गते खुला राष्ट्रिय कविता प्रतियोगिता तथा जेठ–६ गते राष्ट्रिय गायन प्रतियोगिता सञ्चालन गरिएको थियो । एथ्लेटिक्स विद्याका प्रतियोगिता अन्तरगत खुला महिला÷पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उचाल्नुभएको छ ।

उपाधि विजेता बुढा र राईलाई जनही नगद रु ७५÷७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । त्रिधार्मिकस्थल हलेसीमा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै सुनसरीका कवि किरण सिवा उपाधि जित्नुभएको थियो ।

प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले रु ४० हजार राशीको उपाधि जितेको आयोजकले जनाएको छ । राष्ट्रिय गायन प्रतियोगिताको उपाधि मिलन विश्वकर्माले चुम्नुभएको थियो । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा २८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिलनले नगद रु ४० हजार उपाधि चुम्नुभएको हो ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१ आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । चन्दा सङ्कलन तथा दाताको भरमा आयोजना गरिएको महोत्सव सफल भएको आयोजक जनाएको छ ।

दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा साहित्यिक एवम् साँगीतिककर्मीहरु दिक्तेल बजारमा भेला भएका थिए ।

महोत्सव सफल पार्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर नौँवटा उपसमिति गठन गरिएको थियो । महोत्सवमा विभिन्न विद्यामा खोटाङ तथा राष्ट्रलाई योगदान गर्ने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया