साकेला उँभौली : पितृ तथा भूमिको पूजासहित उल्लासमय बन्दै किरात गाउँबस्ती

Halesi Khabar
84 Shares

खोटाङ, १० जेठ । किरात समुदायको प्रमुख चाड साकेला (उँभौली) आजदेखि औपचारिकरुपमा शुरुवात भएको छ । ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उँभौली) चाड मनाउने चलन छ ।

साकेला उँभौलीको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घर–घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरामा साकेला नाच्ने गरिन्छ ।

साकेला उँभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीहरुमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । साकेला चाड अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णीमा र उठाउने बेला मङ्सिरे पूर्णीमाको अवसर पारेर वर्षमा दुई पटक मनाउने गरिन्छ ।

उँभौलीको अवसरमा किरात राईहरुको ऐतिहासिक थलो मानिएका ठाउँहरुमा पूजाआजा गरिएसँगै महिना दिनसम्म यो चाड मनाउने प्रचलन छ । जिल्लाको किरात ऐतिहासिकस्थल तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खा लगायतका धार्मीक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ ।

किराती राई समुदायको घनाबस्ती रहेको माँझ किरात खोटाङका हरेक गाउँ तथा बस्तीहरुमा साकेला सिली प्रदर्शन गर्दै उँभौली चाड मनाउने गरिएको छ । छितको गुन्यु मखमलको चोली, पहेंलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक भेषभुषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किरात समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवतीहरुसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनासहितका गीत गाउँदै साकेला उँभौली मनाइन्छ । खुला आकाशमुनि गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लास पूर्वक साकेला नाचिन्छ ।

बालकदेखि वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गरिन्छ । हात÷खुट्टाको चालले पङ्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रियाहरु प्रदर्शन गरिन्छ ।

साकेला उँभौली चाडले जातीय, धार्मिक तथा साँस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न भूमिका खेल्ने किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभएको छ । “साकेलामा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान÷प्रदान गर्ने गरिन्छ । प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला चाडले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु¥याउँछ”, उहाँले भन्नुभयो, “साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णीमा र उठाउने बेला मङ्सिरे पूर्णीमाको अवसर पारेर वर्षमा दुई पटक मनाउने गरिन्छ । यसले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःख÷सुखको कुराकानी गर्ने वातावरणसमेत सिर्जना गर्ने गरेकाले निक्कै महत्वका साथ मनाउने गरिन्छ ।”

किरात ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिकरुपमा शुरुवात गरिने साकेला उँभौली महिना दिनपछि दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रद्र्धशनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गर्ने चलन छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घ संस्थाका प्रतिनिधि लगायतलाई सहभागी गराएर साकेला सिली नाच्न लगाउने गरिन्छ ।

साकेला उँभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लाहरुमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । साकेला उँभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् ।

साकेला उँभौली चाडको अवसरमा नेपाल सरकारले एक दिन अर्थात आज सार्वजनिक विदासमेत दिएको छ । आज किरात समुदायको साकेला उँभौली चाडसँगै बुद्धजयन्तीसमेत परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।

तपाईको प्रतिक्रिया