अग्निपीडितको सहयोगार्थ सात राजनीतिक दलको आर्थिक सङ्कलन अभियान

Halesi Khabar
21 Shares

खोटाङ, ३० वैशाख । हलेसी तुवाचुङ नगरपालिकाका आगलागी पीडितको सहयोगार्थ सात राजनीतिक दलको नगर कार्यसमितिले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ । नगरपालिकामा विभिन्न समयमा विभिन्न ठाउँमा लागेको डढेलो गाउँ पस्दा घर तथा घरमा भएका सामग्री जलेर नष्ट भएपछि विस्थापित भएका स्थानीय बासिन्दाको पुनः स्थापनाका लागि नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, राप्रपा र नेकपा (एकीकृत समाजवादी)को नगर कार्यमितिले सहयोग सङ्कलन अभियान थालेका हुन् ।

सात राजनीतिक दलका नगर कार्यसमितिले नेता, कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारी, व्यापारी, सामाजिक अभियान्ता र सहयोगी मनका धनीहरुलाई आर्थिक सङ्कलन सहयोग अभियानमा जोडिन आव्हान गरेका छन् । एघार वडा रहेको उक्त नगरपालिकामा क्रियाशील सात राजनीतिक दलका नगर कार्यसमितिको बैठक बसेर अग्नीपीडितको सहयोगार्थ संयुक्तरुपमा आर्थिक सङ्कलन गर्ने निर्णय गरेको थियो ।

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा घर, गोठ तथा पशुचौपाय गुमाएका पीडितको सहयोगार्थ शुरु गरिएको अभियान जेठ–५ गतेसम्म जारी रहने हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार निवासी नेकपा एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईले जानकारी दिनुभएको छ । नगरमा क्रियाशील दलले अग्नीपीडितको सहयोगका लागि घरदैलो अभियानसँगै ‘क्यूआर’कोडसमेत सञ्चालनमा ल्याएका छन् ।

राजनीतिक दलका नगर कार्यसमितिले अग्नीपीडितलाई सहयोग गर्ने स्थानीय सरकार, सङ्घसंस्था लगायतलाई धन्यवाद ज्ञापन गर्दै थप आर्थिक सङ्कलन अभियानमा जुट्न आव्हान गरेको छ । नगरपालिकामा डढेलो तथा अन्य कारणबाट ५० वटा घर, उत्तिकै सङ्ख्यामा मचान र गोठ जलेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

नेपाली काँग्रेसका नगर सभापति चक्रकुमार राई, एमालेका नगर अध्यक्ष डिल्ली चाम्लिङ, माओवादी केन्द्रका नगर अध्यक्ष राजुबिक्रम चाम्लिङ, रास्वपा खोटाङका प्रचार विभाग प्रमुख सन्तोषकुमार दाहाल, जसपाका नगर अध्यक्ष राजन राई, राप्रपाका नगर अध्यक्ष सरोज गिरी र एकीकृत समाजवादीका नगर अध्यक्ष मकर राईले संयुक्त अपिल जारी गर्नुभएको छ । आगलागी पीडितका लागि नगरपालिका, वडा कार्यालय, रेडक्रस तथा विभिन्न सङ्घसंस्थाले समेत सहयोग गरिरहेका छन् ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकाको वडा नं.९ सल्लेका सात घर आगलागी पीडितका लागि १६७ जनाले चन्दा सङ्कलन गरेर रु एक लाख ७६ हजार १० सहयोग रकम उपलब्ध गराएका छन् । वैशाख–१४ गतेको जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर जलेर विस्थापित भएका मदनकुमार थापामगर, इन्द्रबहादुर थापामगर, गोपालबहादुर थापामगर, झनबहादुर थापामगर, भेषणबहादुर रानामगर, खगेन्द्र विश्वकर्मा तथा मचानमा क्षति भएका योगबहादुर रानामगरलाई १५२ जना शिक्षकसहित १६७ जनाले चन्दा सङ्कलन गरेर सहयोग रकम उपलब्ध गराएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ । जिल्लाका विभिन्न ठाउँमा विभिन्न समयमा भएको आगलागीका घटनामा एकजनाले ज्यान गुमाएका छन् भने, छजना घाइते भएका छन् । यस्तै, २२४ वटा पशुचौपाया जलेर मरेका छन् भने, नौँवटा घाइते भएका छन् ।

आगलागीमा नगद, सुनचाँदी, भाँडाकुँडा, अन्नपात, पशुचौपाया लगायत जलेर नष्ट हुँदा रु आठ करोड ५८ लाख २३ हजार २०० क्षति भएको प्रहरीको तथ्याङमा उल्लेख छ । जिल्लाका विभिन्न ठाउँमा भएका आगलागीका घटनामा पीडितलाई राहत उपलब्ध गराउन विभिन्न निकायले पहल गरिरहेका छन् ।

जिल्लामा भएका अधिकांश आगलागीका घटना सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा भएको पाइएको छ । सामुदायिक वनहरुमा स्थानीय बासिन्दा आफैले जानाजान डढेलो लगाउने गरेको समाचार स्रोतको दाबी छ ।

वर्षेनी करोडौँको क्षति हुनेगरी वन क्षेत्रमा डढेलो लगाउने व्यक्तिलाई अहिलेसम्म कानूनी दायरामा ल्याएका छैनन् । सामुदायिक वन क्षेत्रमा जानाजान आगजनी गर्ने व्यक्तिलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय तथा रु २० देखि ५० हजारसम्म जरिवाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।

 

 

तपाईको प्रतिक्रिया