खाली हात बिदा भएका कार्यालय सहयोगीलाई पूर्वविद्यार्थीले दिए रु चार लाख ६८ हजार

Halesi Khabar
28 Shares

खोटाङ, २८ वैशाख । विद्यालयको कार्यालय सहयोगीबाट उमेर हदका कारण अनिवार्य अवकाश हुनुभएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका पर्शुराम भुजेललाई पूर्वविद्यार्थी समूहले नगदसहित बिदाइ गरेका छन् । छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयमा ४० वर्ष अस्थायीरुपमा काम गर्नुभएका कार्यालय सहयोगी भुजेललाई पूर्वविद्यार्थी समूहले रु चार लाख ६८ हजार ७११ रकमसहित बिदाइ गरेका हुन् ।

वि. सं. २०४१ सालदेखि कार्यालय सहयोगीको काम गर्नुभएका भुजेल गत चैत मसान्तदेखि उमेर हदका कारण अनिवार्य अवकाश हुनुभएको थियो । अस्थायीरुपमा विद्यालयमा ४० वर्ष काम गर्नुभएका भुजेललाई स्थानीय सरकारले खाती हात घर पठाएपछि पूर्वविद्यार्थी समूहले रकम सङ्कलन गरेर सम्मानसहित बिदाइ गरेका हुन् ।

बीस वर्षको उमेरदेखि ६० वर्षको उमेरसम्म विद्यालयमा पसिना बगाउनुभएका भुजेललाई सरकारले खाली हात घर पठाएकाले पूर्वविद्यार्थी समूहले रकम सङ्कलन गरेर सम्मान गरिएको रकम सङ्कलन अभियानका संयोजनकर्ता एवम् पूर्वविद्यार्थी उत्तम खड्काले बताउनुभएको छ । वि.सं. २०२१ सालमा स्थापना गरिएको जनसेवा माध्यमिक विद्यालयमा भुजेलले शुरुको चरणमा मासिक रु १६५ तलबबाट जागिर शुरु गर्नुभएको थियो ।

अवकाश हुनुपूर्व मासिक रु दश हजार तलब बुझ्दै आउनुभएका भुजेललाई सरकारले बुढेसकालमा खाली हात घर पठाएपछि चन्दा सङ्कलन गरेर नगद सहयोगसहित बिदाइ गरिएको पूर्वविद्यार्थी खड्काले बताउनुभएको छ । “उमेर रहुञ्जेल हाम्रो सेवामा लाग्नुभयो । अहिले सरकारले खाली हात घर पठाएको छ । उहाँको बाँकी जीवन यात्रामा केही सहज होस् भनेर विद्यालयका २०५ जना पूर्वविद्यार्थीले रकम सङ्कलन गरेर प्रदान गरेका हौँ”, खड्काले भन्नुभयो, “विद्यालयका प्रधानाध्यापक कोपिला राई, व्यवस्थापन समिति अध्यक्ष वीरकाजी खड्का लगायतका व्यत्तिहरु पनि रकम सङ्कलन अभियानमा लाग्नुभएको थियो । सबैले गरेर रु चार लाख ६८ हजार ७११ रकमसहित बिदाइ गरेका हौँ ।”

गत चैत मसान्तबाट अनिवार्य अवकाश हुनुभएका भुजेललाई बिहीबार विद्यालयमा औपचारिक कार्यक्रमसहित बिदाइ गरिएको पूर्व विद्यार्थी समूहले जनाएको छ । बिदाइ कार्यक्रममा सहभागी गाउँपालिका प्रमुख लोकेन्द्र राई, छितापोखरीका वडाध्यक्ष मिलन राई लगायतका व्यक्तिले सङ्कलित रकम हस्तान्त्रण गर्नुभएको हो ।

पूर्वविद्यार्थी समूहले भुजेललाई नगदसहित बिदाइ गरेर उदाहरणीय काम गरेको गाउँपालिका प्रमुख राईले बताउनुभएको छ । पूर्वविद्यार्थी समूहले रकम सङ्कलन गरेर अघिल्लो वर्ष उक्त विद्यालयमा सरस्वतीको मन्दिरसमेत बनाएका थिए ।

तपाईको प्रतिक्रिया