दिक्तेल रुपाकोट मझुवागढीमा ‘हरेक मङ्गलबार जीवनोपयोगी शिक्षा अभियान’ शुरु

Halesi Khabar
63 Shares

खोटाङ, २५ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘हरेक मङ्गलबार जीवनोपयोगी शिक्षा अभियान’ शुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मङ्गलबार नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा पूर्ण व्यवहारिक र आउटडोर शिक्षाको अभ्यास गर्ने÷गराउने प्रयास स्वरुप ‘हरेक मङ्गलबार जीवनोपयोगी शिक्षा अभियान’ शुरु गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यमिक विद्यालय बाँसबोटेले वैशाख–१८ गते मङ्गलबारदेखि ‘जीवनोपयोगी शिक्षा अभियान’ शुरु गरे पनि दिक्तेलको सरस्वती माविबाट वैशाख–२५ गतेदेखि औपचारिक रुपमा अभियान शुरु गरिएको छ । हालसम्म पाठ्यपुस्तकमा मात्र निर्भर शिक्षण सिकाइलाई उत्पादनमुखी, वजारमुखी र सेवामुखी बनाउन नगरका सबै सामुदायिक विद्यालयमा ‘हरेक मङ्गलबार जीवनोपयोगी शिक्षा अभियान’ शुरु गरिएको हो ।

मङ्गलबार स्वास्थ्यकर्मीलाई सरस्वती मावि दिक्तेलमा लगेर स्वास्थ्य शिक्षाको बारेमा कक्षा शिक्षण गराइएको दिक्तेल नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । पञ्च माविमा भवन कम्पाउण्ड सरसफाइ र जनजागृति मावि सोल्मामा कृषि तथा पशुपन्छी सम्बन्धी क्रियाकलाप गर्दै÷गराउँदै ‘हरेक मङ्गलबार जीवनोयोपयोगी शिक्षा अभियान’ शुरु गरिएको छ । श्रीमावि बाँसबोटेले छात्र÷छात्रालाई स्टेज निर्माणको काममा सहभागी गराएको छ ।

नगरपालिकाले शैक्षिक अभियान्ता सूर्यबहादुर राईको संयोजकत्वमा गठन गरेको शैक्षिक सुधार कार्यदलको सुझावको आधारमा हरेक सामुदायिक विद्यालयमा ‘हरेक मङ्गलबार जीवनोपयोगी शिक्षा अभियान’ शुरु गरेको जनाइएको छ । सामुदायिक विद्यालयको गुणस्तर उकास्न सोही कार्यदलले दिएको सुझावका आधारमा नगर कार्यपालिकाले हरेक मङ्गलबार विद्यार्थीलाई पाठ्यपुस्तकबाट अलग गरेर परियोजना कार्य गराउनेगरी ‘हरेक मङ्गलबार जीवनोपयोगी शिक्षा अभियान’ लागू गर्ने निर्णय पारित गरेको थियो ।

‘हरेक मङ्गलबार जीवनोपयोगी शिक्षा अभियान’ अन्तरगत नगरपालिकाका सबै सामुदायिक विद्यालयले वार्षिक कार्ययोजना तयार पार्ने र सो कार्ययोजनामा ३० भन्दा बढी मङ्गलबार विद्यार्थीलाई व्यवस्थित तरिकाले परियोजना कार्य तयार गरेर कार्यान्वयन गराउने योजना बनाइएको संयोजक राईले बताउनुभएको छ । पाठ्यपुस्तकलाई हेरेर कक्षा शिक्षण गर्ने परिपाटीलाई कम गर्दै परियोजना कार्यमा विद्यार्थीलाई बढी क्रियासिल गराउने गरी ‘हरेक मङ्गलबार जीवनोयोपयोगी शिक्षा अभियान’ अघि सारिएको हो ।

अभियान अन्तरगत नगरपालिकाले हरेक महिनाको मङ्गलबार विद्यालयको परियोजना कार्यको उपलव्धी प्रदर्शन गराउने र प्रोत्साहन गर्ने जनाएको छ । नगरपालिकाले वैशाख–१९ गते नगरका ९३ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर विद्यालयको वार्षिक कार्ययोजना निर्माण कार्यशाला आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया