उद्योग वाणिज्य सङ्घले कृषि उपज तथा पशुपालन सम्बन्धी विवरण सङ्कलन गर्ने

Halesi Khabar
56 Shares

खोटाङ, २४ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कृषि उपज तथा पशुपालन सम्बन्धी विवरण सङ्कलन गरिनेभएको छ । नगरभित्रका असली कृषक, कृषि व्यवसाय तथा कृषकको अवस्था, पशुपालन र कृषकले उत्पादन गरेका कृषि उपजहरु बजारसम्म आए÷नआएको यकिन गर्न विवरण सङ्कलन गरिनेभएको हो ।

नगरपालिकासँगको सहकार्यमा उद्योग वाणिज्य सङ्घ खोटाङले नगरभित्रका १५ वटै वडाका कृषकको विवरण सङ्कलन गर्ने तयारी गरेको जनाइएको छ । कृषि उपज र पशुपालनको विवरण सङ्कलन गर्नका लागि नगरपालिकाले रु दश लाख तथा वाणिज्य सङ्घले रु दुई लाख बजेट छुट्याएको छ ।

कृषि उपज तथा पशुपालन सम्बन्धी विवरण सङ्कलन गर्न वाणिज्य सङ्घले एकजना कार्यक्रम संंयोजक तथा आठजना गणक नियुक्त गरिसकेको जनाइएको छ । वाणिज्य सङ्घले नियुक्त गरेको गणकले प्रत्येक वडाका कृषकको घर–घरमा पुगेर ५३ वटा प्रश्नावली विधिमार्फत महिना दिनभित्र विवरण सङ्कलन गर्ने वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

स्थलगतरुपमा खटाइएका गणकमार्फत कृषक तथा कृषि उपजको यथार्थ विवरण सङ्कलन गरिने जनाइएको छ । विवरण सङ्कलन गरेपछि नगरपालिकामा के–के उत्पादन हुन्छ भनेर पहिचान अध्यक्ष आचार्यले बताउनुभएको छ ।

सङ्कलित विवरण, निष्कर्ष एवम् सुझावले नगरपालिका, उद्योग वाणिज्य सङ्घ तथा अन्य सरोकारवाला निकायका लागि कृषि तथा पशुपालन सम्बन्धी भावी योजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्लामा उत्पादित कृषि उपजले बजार नपाएको खण्डमा व्यवसायीहरुसँग सहकार्य गरेर काठमाडाँै, विराटनगर लगायतका शहरबजारमा निर्यात योजनासहित विवरण सङ्कलन गर्ने योजना बनाइएको हो ।

कृषि उपज तथा पशुपालनको विवरण सङ्कलन सम्बन्धी वाणिज्य सङ्घले सोमबार अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा सहभागी नगर प्रमुख तीर्थराज भट्टराईले कृषि सम्बन्धी विवरण सङ्कलनले नगरभित्रका असली कृषकहरुको पहिचान तथा कृषकले उत्पादन गरेका कृषि उपजहरु बजारसम्म आए÷नआएको र कृषि सम्बन्धी भावी योजना निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ ।

कार्यक्रममा सहभागी दिक्तेलका वडाध्यक्ष नवराज राईले अधिकांश कार्यक्रम कागजमा सीमित हुने भएकाले वास्तविक कृषक मारमा परिरहेको बताउनुभयो । कृषिको नाममा विवरण सङ्कलन कार्य त्यति सजिलो नभएको बताउनुभएको छ ।

वाणिज्य सङ्घले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै जिल्लाका दशवटै स्थानीय तहमा कृषि उपज तथा पशुपालन सम्बन्धी विवरण सङ्कलन गर्ने तयारी गरेको वाणिज्य सङ्घका महासचिव अजय बस्नेतले जानकारी दिनुभएको छ । जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपज बजारीकरणका लागि वाणिज्य सङ्घले स्थानीय तहसँगको सहकार्यमा सहजीकरण गर्ने योजना अगाडि सारेको हो ।

तपाईको प्रतिक्रिया