सल्लेका आगलागी पीडितलाई १५२ शिक्षकसहित १६७ जनाको आर्थिक सहयोग

Halesi Khabar
49 Shares

खोटाङ, २४ वैशाख । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका सात घर आगलागी पीडित परिवारका लागि १६७ जनाले चन्दा सङ्कलन गरेर रु एक लाख ७६ हजार १० सहयोग रकम उपलब्ध गराएका छन् । यही वैशाख–१४ गतेको जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर जलेर विस्थापित भएका मदनकुमार थापामगर, इन्द्रबहादुर थापामगर, गोपालबहादुर थापामगर, झनबहादुर थापामगर, भेषणबहादुर रानामगर, खगेन्द्र विश्वकर्मा तथा मचानमा क्षति भएका योगबहादुर रानामगरलाई १५२ जना शिक्षकसहित १६७ जनाले चन्दा सङ्कलन गरेर सहयोग रकम उपलब्ध गराएको हो ।

आगलागी पीडितका लागि सङ्कलन गरिएको रकम क्षतिको विवरण हेरेर रु १२ हजारदेखि रु ४५ हजार १० सम्म सहयोग गरिएको सहयोग सङ्कलन अभियानका संयोजनकर्ता एवम् कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिनुभएको छ । “सल्लेमा भएको आगलागीमा हाम्रा सहकर्मी गंगा थापामगर र धनकुमारी थापामगरसमेत पीडित बन्नुभएको छ । उहाँहरुका लागि भनेर १५२ जना शिक्षकसहित १६७ जनाबाट स्वतःस्फुर्त सहयोग रकम सङ्कलन भएको थियो”, उहाँले भन्नुभयो, “एउटै घटनामा सल्लेका सात घर परिवार पीडित बनेकाले सङ्कलित रकम क्षतिको विवरण हेरेर सबै परिवारलाई उपलब्ध गराएका छौँ ।”

संयोजनकर्ता शिक्षक वाम्बुलेका अनुसार आगलागी पीडित गंगा र धनकुमारी मदनकुमार थापामगरको छोरी हुनुहुन्छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका दुवैजना शिक्षक (गंगा र धनकुमारी)का बुबा मदनकुमार थापामगरलाई रु ४५ हजार १० रकम उपलब्ध गराइएको जनाइएको छ ।

यस्तै, इन्द्रबहादुर र गोपालबहादुर थापामगरलाई रु ३५÷३५ हजार, झनबहादुरलाई रु २३ हजार, भेषणबहादुरलाई रु १४ हजार तथा खगेन्द्र विश्वकर्मा र योगबहादुर रानामगरलाई रु १२÷१२ हजार उपलब्ध गराइएको जनाइएको छ । सङ्कलित रकम सल्लेका वडाध्यक्ष काँशीराज राईको उपस्थितिमा पीडित परिवारलाई उपलब्ध गराइएको संयोजनकर्ता वाम्बुलेले जानकारी दिनुभएको छ ।

स्थानीय सल्लेपोखरी पाखा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा छिर्दा सल्लेका छ घर तथा एउटा मचान जलेर खरानी भएको थियो । सल्लेका आगलागी पीडित परिवार अहिले स्थानीय बासिन्दाले निर्माण गरिदिएकोमा अस्थायी ठहरमा बसिरहेका छन् ।

सल्लेमा भएको आगलागीमा रु एक करोड ३३ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ । दिउँसोको समयमा आगलागी भएका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

सल्लेका आगलागी पीडितलाई नगरपालिकाले वैशाख–१५ गते तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले वैशाख–१६ गते घटनास्थलमै पुगेर राहत उपलब्ध गराएको थियो नगरपालिका र रेडक्रसले आगलागी पीडित परिवारलाई त्रिपाल र ब्ल्याङकेट, चामल, दाल, नुन, चिनी, चिउरा, खाने तेल, लगायतका सामग्री उपलब्ध गराएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न ठाउँमा विभिन्न समयमा भएको आगलागीका घटनामा एकजनाले ज्यान गुमाएका छन् भने, छजना घाइते भएका छन् । यस्तै, २२४ वटा पशुचौपाया जलेर मरेका छन् भने, नौँवटा घाइते भएका छन् ।

आगलागीमा नगद, सुनचाँदी, भाँडाकुँडा, अन्नपात, पशुचौपाया लगायत जलेर नष्ट हुँदा रु आठ करोड ५८ लाख २३ हजार २०० क्षति भएको प्रहरीको तथ्याङमा ल्लेख छ । जिल्लाका विभिन्न ठाउँमा भएका आगलागीका घटनामा पीडितलाई राहत उपलब्ध गराउन विभिन्न निकायले पहल गरिरहेका छन् ।

जिल्लामा भएका अधिकांश आगलागीका घटना सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा भएको पाइएको छ । सामुदायिक वनहरुमा स्थानीय बासिन्दा आफैले जानाजान डढेलो लगाउने गरेको समाचार स्रोतको दाबी छ ।

वर्षेनी करोडौँको क्षति हुनेगरी वन क्षेत्रमा डढेलो लगाउने व्यक्तिलाई अहिलेसम्म कानूनी दायरामा ल्याएका छैनन् । सामुदायिक वन क्षेत्रमा जानाजान आगजनी गर्ने व्यक्तिलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय तथा रु २० देखि ५० हजारसम्म जरिवाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।

तपाईको प्रतिक्रिया