जिल्ला लिग फुटबल प्रतियोगिता : ‘ए’ डिभिजनमा बुइपा तथा ‘बि’ डिभिजनमा लफ्याङ च्याम्पियन

Halesi Khabar
427 Shares

खोटाङ, २३ वैशाख । जिल्ला लिग फुटबल प्रतियोगिताको तेश्रो संस्करण अन्तरगत खोटाङमा सम्पन्न ‘ए’ डिभिजन लिगको प्रतियोगितामा बुइपा ११ स्पोटर्स क्लब बुइपा तथा ‘बि’ डिभिजनमा नमूना स्पोटर्स क्लब लफ्याङ च्याम्पियन भएका छन् । जिल्ला फुटबल सङ्घ खोटाङले आयोजना आयोजना गरेको जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत ‘ए’ डिभिजनमा च्याम्पियन बनेको बुइपाले प्रदेशस्तरीय लिगमा सहभागी हुन पाउने भएको छ भने, लफ्याङ ‘बि’ डिभिजनबाट ‘ए’ डिभिजनमा उक्लिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोटर्स क्लब सोल्माको खेलमैदानमा यही वैशाख–१५ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ‘ए’ डिभिजनमा रहेको भगवती स्पोटर्स क्लब खोटाङबजार रेलिगेशनमा पर्दै ‘बि’ डिभिजनमा झरेको छ । उता, ‘बि’ डिभिजनको लिग प्रतियोगितामा जन्तेढुङ्गा फुटबल क्लब जन्तेढुङ्गा रेलिगेशनमा पर्दै ‘सि’ डिभिजनमा झरेको आयोजक खोटाङ फुटबल सङ्घका अध्यक्ष ध्रुबविक्रम राईले जानकारी दिनुभएको छ ।

‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगतको खेलमा बाक्सिला फुटबल क्लब बाक्सिला, खारम्बु स्पोर्टस क्लब खार्मी, खोटाङ भगवती स्पोर्टस् क्लब खोटाङबजार, बुइपा ११ स्पोर्टस् क्लब बुइपा, हलेसी फुटबल क्लब हलेसी र सोल्मा स्पोर्टस् क्लब सोल्माबीच प्रतिष्पर्धा भएको थियो । ‘ए’ डिभिजन लिगको प्रतियोगितामा सबैभन्दा बढी १३ अङ्कसहित बुइपा ११ स्पोटस) क्लब बुइपा च्याम्पियन बनेको हो ।

‘बी’ डिभिजन लिग अन्तरगतको प्रतियोगितामा खोटाङ फुटबल एकेडेमी दिक्तेल, नमूना स्पोर्टस् क्लब लफ्याङ, नुनथला स्पोर्टस् क्लब नुनथला र जन्तेढुङ्गा फुटबल क्लब जन्तेढुङ्गाबीच प्रतिष्पर्धा भएको थियो । ‘बी’ डिभिजन लिगको प्रतियोगितामा नमूना स्पोर्टस् क्लब लफ्याङ र खोटाङ फुटबल एकेडेमीले समान पाँच÷पाँच अङ्क जोडेपछि गोल अन्तरको आधारमा नमूना स्पोर्टस् क्लब लफ्याङ ‘बि’ डिभिजनबाट ‘ए’ डिभिजनमा उक्लिएको आयोजकले जनाएको छ ।

हप्ता दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ‘ए’ तथा ‘बी’ डिभिजन लिग च्याम्पियन क्लब र खेलाडीलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । ‘ए’ डिभिजन लिग च्याम्पियन बुइपा ११ स्पोटर्स क्लब बुइपालाई प्रदेश लिग प्रतियोगितामा सहभागिता जनाउनका लागि सेवासुविधावापत रु ३५ हजार उपलब्ध गराइएको आयोजक जिल्ला फुटबल सङ्घका उपाध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिनुभएको छ ।

वि.सं. २०५९ सालदेखि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यता लिन प्रयास गरेको जिल्ला फुटबल सङ्घ खोटाङलाई वि.सं. २०७५ सालमा अस्थायी र वि.सं. २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको जिल्ला अध्यक्ष राईले जानकारी दिनुभएको छ । एन्फाको सदस्यस्ता प्राप्त गरेसँगै जिल्ला फुटबल सङ्घ खोटाङले वि.सं. २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चलन गरेको हो ।

यसैबीच, आगामी पुस–६ गतेदेखि जिल्लामा ‘सि’ डिभिजनको फुटबल प्रतियोगिताको छनोट खेल सञ्चालन गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ । ‘सि’ डिभिजनको फुटबल प्रतियोगितामा सहभागी हुन चाहने क्लबले आधिकारिक रुपमा जिल्ला खेलकुद विकास समिति वा जिल्ला प्रशासनमा क्लब दर्ता गरेर खेलकुद सम्बन्धीका गतिविधि सञ्चालन गरेको हुनुपर्ने आयोजकले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय फुटबल खेलप्रति युवाको आकर्षण बढ्दै गएको पाइएको छ । देशमा सङ्घीयता लागू भएसँगै स्थानीय तहहरुले खेल क्षेत्रमा लगानी गर्न थालेपछि खेलाडीहरुसमेत उत्साहित बनेका छन् ।

तपाईको प्रतिक्रिया