जनजाति महासङ्घमा निवर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष मगरको छुट्टाछुट्टै समिति

Halesi Khabar
350 Shares

खोटाङ, २१ वैशाख । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङमा दुईवटा छुट्टाछुट्टै नयाँ कार्यसमिति निर्माण भएको छ । आदिवासी जनजाति महासङ्घ खोटाङको चौथो जिल्ला अधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनमा विवाद भएपछि निवर्तमान अध्यक्ष फुर्वा शेर्पाको अध्यक्षतामा १७ तथा वरिष्ठ उपाध्यक्ष लालबहादुर मगर ‘एलबी’को अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण भएको हो ।

जनजाति महासङ्घको जिल्ला कार्यसमिति छुट्टाछुट्टै समिति गठन भएपछि सामाजिक सञ्जाल फेसबुकमा आ–आफ्नो पक्षका व्यक्तिले बधाई तथा शुभकामना दिइरहेका छन् । आदिवासी जनजातिको भाषा, संस्कृति र पहिचानका विषयमा आवश्यक नीति, योजना तथा कार्यक्रम तय गर्ने उद्देश्यले स्थापना भएको महाङ्घ आफै विभाजित भएको छ ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा आयोजना गरिएको महासङ्घको चौथो जिल्ला अधिवशेन केन्द्रीय उपमहासचिव रामकृष्ण ब्लोन तामाङले बुधबार औपचारिक उद्घाटन गर्नुभएको थियो । बन्दसत्रमा सर्वसम्मत नयाँ जिल्ला कार्यसमिति चयन गर्ने प्रयास असफल भएपछि निवर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष मगरको नेतृत्वमा छुट्टाछुट्टै समिति निर्माण भएको हो ।

एक समूहले पुनः फुर्वा शेर्पाको नेतृत्वमा समिति निर्माण भएको भन्दै पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको छ । अर्को समूहले निर्वतमान वरिष्ठ उपाध्यक्ष मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको नामावली सार्वजनिक गरेको छ ।

व्यक्तिको स्वार्थको कारण निर्वाचन मण्डललाई कब्जा गरेर सबैको भावना बिपरित विधान मिचेर कार्यसमिति चयन गरेकाले बहिस्कार गरिएको विज्ञप्तिमार्फत जनाएको छ । सोही समूहले मगरको नेतृत्वमा अर्को समिति गठन गरेर जिल्ला कार्यसमितिको नामावली सार्वजनिक गरेको हो ।

दुईवटा समिति निर्माण भएपनि शेर्पाको नेतृत्वको समिति आधिकारिक रहेको निर्वाचन मण्डलका संयोजक नारायणदास राईले बताउनुभएको छ । “सर्वसम्मत समिति चयन गर्ने भनेर सबै जातीय संस्थाले हस्ताक्षर गरेपछि बहुमतको आधारमा शेर्पाको अध्यक्षतामा नयाँ समिति घोषणा गरियो । निर्वाचन निर्वाचन नगरी सर्वसम्मत समिति निर्णय गर्ने सबैको जोड थियो”, उहाँले भन्नुभयो, “बहुमतले शेर्पाको अध्यक्षतामा नयाँ समिति घोषणा गर्न सिफारिस गरेपछि निर्वाचन मण्डलले घोषणा गरेको हो ।”

निर्वाचन मण्डलले घोषणा गरेको समितिमा अध्यक्षमा पुनः फुर्वा शेर्पा, वरिष्ठ उपाध्यक्ष एलबी मगर, महिला उपाध्यक्षमा पदमकुमारी सैंजू, खुला उपाध्यक्षमा पर्शुराम तामाङ, सचिवमा सप्तमणि राई, सहसचिवमा वीरेन गुरुङ, कोषाध्यक्षमा किसन भुजेल रहनुभएको छ । सदस्यहरुमा निर्मल राई, रविन सुनुवार, सँगीता राई, यादव श्रेष्ठ, चित्रकला भुजेल र भुवन राईलाई चयन गरिएको जनाएको छ ।

निर्वाचन मण्डलले घोषणा गरेको समिति विधान र सबैको भावना विपरित भएको भन्दै वरिष्ठ उपाध्यक्षमा राखिएका मगरले आफ्नै नेतृत्वमा अर्को समिति निर्माण गर्नुभएको छ । किरात याक्थुम चुमलुङ, नेपाल मगर सङ्घ र नेपाल माझी उत्थान सेवा समाज खोटाङले विज्ञप्ति निकाल्दै अर्को समिति घोषणा गरेको हो ।

तीनवटा जातीय संस्थाको हस्ताक्षर रहेको समितिको अध्यक्षमा एलबी मगर, वरिष्ठ उपाध्यक्षमा अस्मिता लिम्बू, खुल्ला उपाध्यक्षमा श्याम बहादुर माझी, महिला उपाध्यक्षमा रेश्मा राई, सचिवमा उदिम चाम्लिङ, सहसचिवहरुमा कृष्णकुमारी तामाङ, सन्तोष श्रेष्ठ र प्रकाश मगर, कोषाध्यक्षमा मनिला सुनुवार रहनुभएको छ । समितिको वरिष्ठ सल्लाहकारमा रविन खम्बु र सल्लाहकारमा गोमा राईलाई राखिएको छ ।

यस्तै, सदस्यहरुमा शर्मिला माझी, राजन मगर, सविना राई, उपेन्द्र राई, सजना भुजेल, आकृति भुजेल, होमबहादुर मगर, गोपाल राई, आसमान लिम्बु र गङ्गा मगर रहनुभएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन मण्डलले आफूहरुले घोषणा गरेको शेर्पाको नेतृत्वको समिति आधिकारिक भएको बताइरहँदा अर्को पक्षले मगरको नेतृत्वको समिति आधिकारिक रहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घका नवनिर्वाचित अध्यक्ष सोनामहाङ राई र नेपाल आदिवासी जनजाति युवा महासङ्घ खोटाङका अध्यक्ष भूपेन्द्र राईले मगर नेतृत्वको समिति आधिकारिक भएको दाबी गर्नुभएको छ । राई, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, भुजेल, माझी, लिम्बू, थामी, सुनुवार र चौधरी जातिको बसोबास रहेको खोटाङ जिल्लामा गठित आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्मा दश जातजातिको प्रतिनिधित्व रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया