बुवाँखोलाको पानी लिफ्ट गरेर जन्तेढुङ्गामा निकाल्ने आयोजना अघि बढ्यो

Halesi Khabar
105 Shares

खोटाङ, २० वैशाख । जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर वस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ । सङ्घीय खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०७९÷०८० मै बुवाँखोला लिफ्टिङ खानेपानी आयोजनालाई रातो किताबमा समेटेको थियो । तर, आयोजना सुनिश्चित भएको दुई वर्षपछिमात्रै लिफ्टिङ खानेपानी आयोजनाको सर्भेक्षण तथा डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)को काम अघि बढाइएको हो ।

छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं. २ बाहेक अन्य सबै वडा (१, ३, ४, ५ र ६)का नागरिकलाई पिउनेपानी उपलब्ध गराउन खानेपानी विभागसँगको सहकार्यमा प्रिक्सा कन्सल्टेन्सीले लिफ्टिङ आयोजनाको सर्भेक्षण पुरा गरेको छ । आयोजनाको डिपिआर तयार पार्न अझै कम्तिमा दुई हप्ता समय लाग्ने जनाइएको छ ।

मन्त्रालयबाट थोरै बजेट विनियोजन हुँदा दुई वर्षसम्म आयोजनाको सर्भेक्षणको काम नभएपछि पुनः गत फागुनमा सचिव सुरेश आचार्यलाई भेटेर आयोजनाको काम अघि बढाउन आग्रह गरिएको नेपाली काँग्रेस जन्तेढुङ्गा पार्टी सभापति बाजिन्द्र बिष्टले जानकारी दिनुभएको छ । बुवाँखोलाको चण्डीथानमाथि झोलुङ्गे पुलछेउबाट पहिलो मोटर राखेर एक हजार ९५८ मिटर उचाईमा रहेको भञ्ज्याङखर्कमा पानी निकालेर गाउँपालिकाभित्रका बस्तीहरुमा पानी वितरण गर्ने योजना छ ।

बुँवाखोला लिफ्टिङ खानेपानी आयोजनाबाट वडा नं. १, ३, ४, ५ र ६ मध्ये चार वडाका पूर्ण र वडा नम्बर १ को पैयाँटार, देविस्थान, रिला, बुकुलाका स्थानीय लाभान्वित हुने सभापति बिष्टले जानकारी दिनुभएको छ । करिब रु ५० करोडको लागत आउने अनुमान गरिएको बुँवाखोला लिफ्टिङ खानेपानी आयोजनाबाट उक्त गाउँपालिकाका एक हजार घरधुरी लाभान्वित हुने जनाइएको छ ।

लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका लागि बाम्राङका मिलन राईको पाँच रोपनी जग्गामा दोस्रो मोटर राखिने जनाइएको छ । बाम्राङमा राखेर सो स्थानमा पानी प्रशोधन गरेपछि त्यसको आसपासका वस्तीमा पानी वितरण गर्ने योजना बनाइएको सभापति बिष्टले बताउनुभएको छ ।

तेस्रो मोटर थर्पुडाँडा र चौथो मोटर चुन्थेडाँडामा राख्नेगरी सर्वेक्षणको काम गरिएको जनाइएको छ । उक्त स्थानबाट अन्य वडामा पानी लैजानेगरी ठूलो ट्याङ्की निर्माण गरिने र चौथो मोटरबाट भञ्ज्याङखर्कको सबैभन्दा अग्लो डाँडामा पानी निकालेर पानी वितरण गरिने जनाइएको छ ।

क्रमागत योजना अन्तरगत सञ्चालन गर्न लागिएको लिफ्टिङ खानेपानी आयोजनाका लागि मन्त्रालयले आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ मा रु पाँच लाख बजेट विनियोजन गरेको थियो । तर, कुनै पनि काम नभएपछि महिना दिनअघि हलेसी तुवाचुङ नगरपालिकाका पूर्व नगरप्रमुख इवन राई, सभापति बिष्ट लगायत मन्त्रालय पुगेर डिपिआर तयार पारेर काम अघि बढाउने निश्चित गराउनुभएको हो ।

यही वैशाख–१३ गते सर्भेक्षणको काम सम्पन्न गरिएको आयोजनाका लागि प्राविधिक टोलीसँग सभापति बिष्ट, वडाध्यक्षद्धय विदुरमान राई र धनबहादुर राई, नेतृ अनिता राई लगायत सहभागी हुनुभएको थियो । आयोजना सञ्चालनका लागि स्थानीय सरकारकोतर्फबाट गाउँपालिकाले अवश्यक सहयोग गर्ने गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया