सल्लेका छ घर आगलागी पीडितलाई रेडक्रसले उपलब्ध गरायो राहत सामग्री

Halesi Khabar
147 Shares

खोटाङ, १७ वैशाख । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले डढेलोबाट विस्थापित हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका छ घर परिवारलाई राहत प्रदान गरेको छ । यही वैशाख–१४ गतेको डढेलोबाट घर जलेर विस्थापित भएका इन्द्रबहादुर थापामगर, गोपालबहादुर थापामगर, मदनकुमार थापामगर, खगेन्द्र विश्वकर्मा, भेषणबहादुर रानामगर र झनबहादुर थापामगरलाई राहत प्रदान गरेको हो ।

अग्निपीडित परिवारलाई आइतबार घटनास्थलमै पुगेर छुट्टाछुट्टै एक थान पाल, दुई थान कम्बल, एक थान म्याट्रेस, एक थान बाल्टी, एक÷एकवटा भाँडा सेट, दुई थान साडी, चार मिटर सुटिङ कपडा, सात मिटर प्रिन्ट कपडा, चार मिटर सादा कपडा, एक मुठा डोरी र एक थान बोरा प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्रकुमार बजिमयले जानकारी दिनुभएको छ । रेडक्रसले प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा प्रमुख लगायतलाई लगेर राहत बाँडेको हो ।

यस्तै, डढेलोबाट विस्थापित परिवारलाई नगरपालिकाले शनिबार एक÷एक थान त्रिपाल र ब्ल्याङकेटको साथमा ३० केजीको एक÷एक बोरा चामल प्रदान गरेको छ । यस्तै, वडा कार्यालयले जनही ३० केजी चामल, दुई केजी दाल, एक केजी चिनी, दुई केजी चिउरा, दुई केजी आलु, दुई पोका खाने तेल, एक पोका बेसार, दुई सय ग्राम मसला र एक७लमबकज;एक थान त्रिपाल प्रदान गरेको छ ।

गोठ जलेका योगबहादुर मगरलाई नगर र वडा कार्यालयले एक÷एक थान त्रिपाल वितरण गरेको छ । डढेलो पीडितलाई नगर प्रमुख विमला राई र वडाध्यक्ष काशीराज राईले राहत हस्तान्तरण गर्नुभएको हो ।

स्थानीय सल्लेपोखरी पाखा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा छिर्दा सल्लेका छ घर खरानी भएको थियो । सल्लेका आगलागी पीडित परिवार अहिले स्थानीय बासिन्दाकोमा आश्रय लिएर बसिरहेका छन् ।

सल्लेमा भएको आगलागीमा रु एक करोड ३३ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ । दिउँसोको समयमा आगलागी भएका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा गत साउनदेखि हालसम्म ८३ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न ठाउँमा विभिन्न समयमा भएको आगलागीका घटनामा एकजनाले ज्यान गुमाएका छन् भने, छजना घाइते भएका छन् ।

आगलागीमा नगद, सुनचाँदी, भाँडाकुँडा, अन्नपात, पशुचौपाया लगायत जलेर नष्ट हुँदा रु छ करोडभन्दा बढी क्षति भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । जिल्लाका आगलागी पीडितका लागि राहत उपलब्ध गराउन विभिन्न निकायले पहल गरिरहेका छन् ।

जिल्लामा भएका अधिकांश आगलागीका घटना सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा भएको पाइएको छ । सामुदायिक वनहरुमा स्थानीय बासिन्दा आफैले जानाजान डढेलो लगाउने गरेको समाचार स्रोतको दाबी छ ।

वर्षेनी करोडौँको क्षति हुनेगरी वन क्षेत्रमा डढेलो लगाउने व्यक्तिलाई अहिलेसम्म कानूनी दायरामा ल्याएका छैनन् । सामुदायिक वन क्षेत्रमा जानाजान आगजनी गर्ने व्यक्तिलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय तथा रु २० देखि ५० हजारसम्म जरिवाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।

तपाईको प्रतिक्रिया