स्थानीय विषयको पाठ्यक्रम परिमार्जन गर्न सहजकर्ता तयार

Halesi Khabar
28 Shares

खोटाङ, १६ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जनका लागि सहजकर्ता तयार पारेको छ । नगरपालिकाले वि.सं. २०७८ सालमा प्रकाशनमा ल्याएको स्थानीय पाठ्यक्रम परिमार्जन गर्दै सङ्घीयताको मर्मअनुसार हरेक वडामा छुट्टाछुट्टै विषयवस्तु समेटिएको स्थानीय विषयको पाठ्यक्रम तयार पार्नका लागि सहजकर्ता तयार गरेको हो ।

पन्ध्र वडा रहेको नगरपालिकाले यसअघि तयार पारिएको स्थानीय पाठ्यक्रम अन्तरगत कक्षा–१ देखि ५ कक्षासम्मको ‘दिरुम ज्ञानमाला’लाई नगरभरीका विद्यालयमा पठनपाठन गर्दै आएको थियो । अब हरेक विद्यालयमा आ–आफ्नै विशिष्टतामा आधारित रहेर स्थानीय विषयको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्ने र प्रयोगमा ल्याउने कार्यमा सहजीकरण गर्न सक्षम सहजकर्ता तयार गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

नगरपालिकाले स्वयम् विद्यालयलाई नै आफ्नै खालको स्थानीय विषयको पाठ्यक्रम तयार गर्न सक्षम बनाउने लक्ष्यका साथ स्थानीय पाठ्यक्रम परिमार्जन तथा सहजकर्ता उत्पादन कार्यशाला आयोजना गरेको थियो । नगरपालिकाले शैक्षिक अभियान्ता सूर्यबहादुर राईको संयोजकत्वमा गठन गरेको शिक्षा सुधार कार्यदलको सहयोगमा नगरका १५ वटै वडामा तीन÷तीन जना पाठ्यक्रम निर्माण सहजकर्ता उत्पादन गर्नेगरी यही वैशाख–१४ र १५ गते कार्यशाला आयोजना गरेको हो ।

स्थानीय पाठ्यक्रमबारे सुझबुझ भएका र सक्षम विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षकलाई सहभागी गराएर कार्यशाला गरेको थियो । नगरपालिकाले आयोजना गरेको कार्यशालामा सहभागी भएर फर्किएका सहजकर्ताले आ–आफ्नो वडामा गएर स्थानीय पाठ्यक्रम निर्माण गर्न छलफल, सहयोग र सहजीकरण गर्ने संयोजक राईले जानकारी दिनुभएको छ ।

नगरपालिकाले शिक्षा मन्त्रालयका पूर्व उपसचिव भरत श्रेष्ठलाई प्रशिक्षकको रुपमा ल्याएको छ । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि नगरपालिकाले क्रमशः निरन्तर विद्यार्थी मूल्याङ्कन, राष्ट्रिय पाठ्यक्रमको प्रयोग, विद्यालय योजना, परियोजना कार्य, प्रविधि, खेल तथा सँगीत लगायतका विषयमा कार्यशाला गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया