पत्रकार महासङ्घ खोटाङको सातौँ जिल्ला अधिवेशन : दुई पत्रकारलाई विकास पत्रकारिता पुरस्कार

Halesi Khabar
126 Shares

खोटाङ, १५ वैशाख । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङको सातौँ जिल्ला अधिवेशन तथा ११ औँ साधारणसभाको उद्घाटनसत्र सम्पन्न भएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा शनिबार सम्पन्न जिल्ला अधिवेशन तथा साधारणसभाले महासङ्घको नीति तथा कार्यक्रम पारित गरेको छ ।

सातौँ जिल्ला अधिवेशनको निर्वाचन प्रक्रियाको मिति भने, नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशनपछि बस्ने केन्द्रीय समितिको बैठकले निर्धारण गर्ने जिल्ला अध्यक्ष दिलीप खत्रीले जानकारी दिनुभएको छ । पत्रकार महासङ्घ खोटाङको भावी जिल्ला कार्यसमिति सर्वसहमतिमा चयन हुने अग्रज पत्रकारहरुले बताएका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य भूपेन्द्र राईले नेपालको वर्तमान व्यवस्था ल्याउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । “सङ्घीयतालाई सही व्यवस्थापन गर्न नसक्दा नागरिकले चाहेको लाभ दिन कठिनाइ छ । यद्यपि, हामी सङ्घीयतालाई संस्थागत गर्न प्रयासरत छौँ”, उहाँले भन्नुभयो, “राम्रा कामहरूलाई पत्रकारले पत्रकारिताको माध्यमबाट बाहिर ल्याउनुपर्छ । खोटाङमा अधुरा योजनाहरुको चाँङ लागेका छन् । विभिन्न कारणले अधुरा रहेका योजनाहरुको काम पूरा गराउन पत्रकारको खबरदारी जरूरी छ ।”

नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहनुभएका प्रदेशसभा सदस्य राईले कोशी प्रदेश सरकारले विद्यायन समितिमार्फत पत्रकारको हकहितका निम्ति नीति बनाउनेमा आफ्नो योगदान रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले अधिकतम् क्षेत्रको विकास भइरहँदा पनि नागरिक सन्तुष्ट नरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ललिता साहले जिल्लाको समग्र क्षेत्रको विकासको पहरेदार रहेका पत्रकार र पत्रकारिता क्षेत्रको विकासमा स्थानीय, प्रदेश तथा सङ्घ सरकारले नीति निर्माण र कार्यान्वनसहितको अपनत्व देखाउनुपर्ने बताउनुभयो । जिल्ला वार एशोसिएसन खोटाङका सचिव ओमप्रकाश घिमिरेले देश विकासको चौथो खम्बाको रूपमा रहेको पत्रकार र पत्रकारिताले विगतमा बिराएको बाटो आगामी दिनमा सच्याएर जानुपर्नेमा जोड दिनुभएको छ ।

दृश्य टेलिभिजनका अध्यक्ष टंक श्रेष्ठले पछिल्लो समय नेपाली पत्रकारिता र सञ्चार माध्यमहरु मुखपत्रको रूपमा विकास हुनु गलत बताउनुभएको छ । पत्रकार महासङ्घका पूर्व जिल्ला अध्यक्ष डम्बरसिं राईले पत्रकार कुनै पार्टी निकट भए पनि समाचारमा सन्तुलन कायम राख्नुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले देशको प्रशासनिक आचरणमा सङ्घीयता ल्याउन जरूरी रहेको बताउनुभएको छ । पत्रकार महासङ्घका कोशी प्रदेश समिति सदस्य लीला सुनुवारले मिडिया हाउस बलियो बनाइएमा मात्र पत्रकार र पत्रकारिता जोगिने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका सचिव सुरेन्द्रकुमार राईले आफ्ना नेताका राम्रा नराम्रा सबै खाले काम र व्यवहारलाई अनुमोदन गर्ने नियति भोग्दै आएको स्वीकार्दै त्यस्ता पाटोमा खबरदारी गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेश समिति सदस्य होमकाजी आचार्य ‘विनोद’ले खोजमूलक समाचार उत्पादन तथा प्रशारणमा जोड दिन पत्रकारहरुलाई सुझाव दिनुभएको छ ।

काँग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीले राज्यको हरेक अङ्गलाई आफ्नो कर्तव्यप्रति सुसूचित गराउने कार्य प्रेस जगतलेमात्रै गर्दै आएको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष ललितकुमार राईले पत्रकार निश्पक्ष हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रशुराम थापाले कार्यकर्तामुखी विकासले जिल्लाको विकासभन्दा बजेट सकाउने काममात्रै भएको तर्क गर्नुभएको छ । कार्यक्रमका अधिकांश वक्ताहरुले पत्रकारिता जगत्लाई मर्यादित र जवाफदेही बनाएर अगाडि बढ्न पत्रकारहरुलाई सुझाव दिएका छन् ।

उद्घाटनसत्रमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष दमन राई, पत्रकार भीम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, सुरक्षाकर्मी, पेशागत सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । जिल्लास्थित दशवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई कार्यक्रमको निम्तो दिइए पनि उपस्थित नभएको अध्यक्ष खत्रीले बताउनुभएको छ ।

यसैबीच, पत्रकार महासङ्घले जिल्लामा कृयाशील दुईजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरेको छ । गोरखापत्र दैनिकका खोटाङ सम्वाददाता राजकुमार भट्टराई र रुपाकोट साप्ताहिक खबर पत्रिकाका सम्वाददाता सविना परियारलाई जनही रु पाँच÷पाँच हजार राशिको नगद पुरस्कार प्रदान गरिएको हो ।

जिल्लामा रहेर पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणका लागि पु¥याएको योगदानको कदरस्वरुप दुईजना पत्रकारलाई पुरस्कृत गरिएको पत्रकार महासङ्घका जिल्ला सचिव लोकमणि रिजालले बताउनुभएको छ । तत्कालीन जिल्ला विकास समिति खोटाङसँगको सहकार्यमा पत्रकार महासङ्घले स्थापना गरेको रु एक लाखको अक्षयकोषबाट आएको ब्याजले हरेक तीन÷तीन वर्षमा दुई÷दुईजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया