जिल्ला लिग फुटबलको तेश्रो संस्करण आजदेखि सञ्चालन हुँदै

Halesi Khabar
616 Shares

खोटाङ, १५ वैशाख । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेश्रो संस्करण आज वैशाख–१५ गतेदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको आयोजनामा वैशाख–१५ गतेदेखि १७ गतेसम्म ‘बी’ डिभिजन र वैशाख–१५ गतेदेखि २२ गतेसम्म ‘ए’ डिभिजनको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

एन्फाको निर्देशिका अनुसार ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगतको खेलमा बाक्सिला फुटबल क्लब, खारम्बु स्पोर्टस क्लब, खोटाङ भगवती स्पोर्टस् क्लब, बुइपा ११ स्पोर्टस् क्लब, हलेसी फुटबल क्लब र सोल्मा स्पोर्टस् क्लबबीच प्रतिष्पर्धा हुने आयोजक खोटाङ फुटबल सङ्घका अध्यक्ष ध्रुबविक्रम राईले जानकारी दिनुभएको छ । ‘ए’ डिभिजनका विजेता टिमले प्रदेश लिगमा खेल्न जाने अवसर पाउने छन् भने, सबैभन्दा कम अङ्क ल्याउने टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छ ।

‘बी’ डिभिजन लिगको प्रतियोगितामा खोटाङ फुटबल एकेडेमी, नमूना स्पोर्टस् क्लब, नुनथला स्पोर्टस् क्लब र जन्तेढुङ्गा फुटबल क्लबबीच प्रतिष्पर्धा हुने जनाइएको छ । ‘बी’ डिभिजनका विजेता टिमले ‘ए’ डिभिजन उक्लने अवसर पाउने फुटबल सङ्घका अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

‘ए’ तथा ‘बी’ डिभिजन लिगको दुवै खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोटर्स क्लब सोल्माको खेलमैदानमा सञ्चालन गर्ने तयारी गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा वि.सं. २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको हो ।

एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल सङ्घले जिल्लाकै इतिहासमा पहिलोपल्ट वि.सं. २०७६ सालमा जिल्ला लिग फुटबल प्रतियोगिता गरेको थियो । वि.सं. २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई वि.सं. २०७५ सालमा अस्थायी र वि.सं. २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको हो ।

प्रतियोगिताको पहिलो दिन आज (शनिबार) दुई खेल सञ्चालन हुने आयोजकले जनाएको छ । दिउँसो १ः०० बजेबाट शुरु हुने पहिलो खेल नमूना स्पोटर्स क्लब र नुनथला स्पोटर्स क्लबबीच तथा दिउँसो ३ः०० बजेबाट शुरु हुने दोश्रो खेल केएफए र जन्तेढुङ्गा स्पोटर्स क्लबबीच सञ्चालन हुने जनाइएको छ ।

दुवै प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक जिल्ला फुटबल सङ्घका उपाध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिनुभएको छ । हप्ता दिनसम्म सञ्चालन हुने प्रतियोगिताको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले गर्नुहुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया