झगडामा साथीलाई जोगाउन गएका धनजितको छुरा प्रहारबाट मृत्यु

Halesi Khabar
511 Shares

खोटाङ, २ वैशाख । छुरा प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका धनजित राईको गएराति मृत्यु भएको छ । स्थानीय भीमबहादुर बस्नेतको मकै बारीमा छुरा प्रहार गरिएका ३१ वर्षीय धनजितको गएराति करिब ८ः०० बजे समयमा घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय तीन युवाले धनजितलाई छुरा प्रहारगरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभएको छ । धनजितलाई छुरा प्रहार गरी फरार भएका तीनैजना युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक तथा प्रहरीचौकी जालपा र प्रहरीचौकी तालखर्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा खटिएका छन् । मादक पदार्थ सेवन गरेका तीन युवाले भीमबहादुरलाई घरैमा गएर कुटपिट गर्न थालेपछि गुहार दिन जाँदा धनजितमाथि आक्रमण भएको स्थानीय बासिन्दाले बताएका छन् ।

छुरा प्रहारबाट घाइते बनेका धनजितले आफू घाइते भएपछि घटनास्थलबाट साहिला भाइलाई ७ः३० बजेको समयमा फोन सम्पर्क गरेको बताइएको छ । भाइसँगको फोन सम्र्कपछि खोज्दै जाँदा धनजितलाई मकैबारीमा मृत फेला पारिएको स्थानीय उमेश राईले जानकारी दिनुभएको छ ।

मृतक धनजितको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ लगिएको प्रहरीले जनाएको छ । मृतक धनजित र भीमबहादुर गाउँमा सँगै मिलेर मिस्तिरी (घर बनाउने काम) गर्दै आएको बुझिएको छ ।

तीन युवाको आक्रमणमा परेका भीमबहादुर र उहाँकी श्रीमती अप्सर भनिने प्रेमकुमारी पौडेल (बस्नेत) सामान्य घाइते भएका छन् । अप्सराको निधार र ओठमा चोट लागेको श्रीमान भीमबहादुरले जानकारी दिनुभएको छ ।

धनजितको हत्यामा संलग्न तीन युवा गाउँमा मादक पदार्थ सेवन गरेर झैझगडा गर्ने, अर्काको कुखुरा चोरेर खाने लगायतका क्रियाकलापमा सक्रिय रहेको छिमेकीहरुले बताएका छन् । उनीहरु पटक–पटक प्रहरी हिरासतमा समेत बसेर छुटेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया